नेप्सेमा नयाँ सर्किट प्रणाली लागू

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउने उद्देश्यसहित आज (सोमबार) देखि नयाँ ‘सर्किट’ व्यवस्था लागू गरेको छ।

‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा गरिएको संशोधनअनुसार अब सूचीकृत कम्पनीहरूको शेयर मूल्य एकै दिनमा अधिकतम १५ प्रतिशतसम्म घटबढ हुन पाउनेछ। यसअघि यस्तो सीमा १० प्रतिशत मात्र थियो।

नेप्सेका अनुसार अन्तर्राष्ट्रिय अभ्यास र बजारमा बढ्दो लगानीकर्ता आकर्षणलाई ध्यानमा राख्दै यो परिवर्तन गरिएको हो।

विश्लेषकहरूले मूल्य सीमा १५ प्रतिशत पुर्‍याउँदा बजारमा अस्थिरता (भोलाटिलिटी) बढ्न सक्ने भए पनि वास्तविक मूल्य निर्धारण (प्राइस डिस्कभरी) सुधार हुने र बजारमा तरलता बढ्ने अपेक्षा गरेका छन्।

यो व्यवस्थाले लगानीकर्तालाई बजारको प्रवृत्ति अनुसार छिटो निर्णय लिन र अवसर उपयोग गर्न सहज हुने विश्वास गरिएको छ।

नयाँ व्यवस्था लागू भएसँगै नेप्सेको कारोबार प्रणाली (TMS) मा पनि आवश्यक प्राविधिक सुधार गरिएको छ। यसले नेपालको पूँजी बजारलाई अन्तर्राष्ट्रिय मापदण्ड नजिक पुर्‍याउने र बजारलाई थप परिपक्व बनाउने अपेक्षा गरिएको छ।