काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिकोत्सव (रजत जयन्ती) को अवसरमा व्यतीत बीमालेखहरूको पुनर्जागरणका लागि विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने विशेष योजना सार्वजनिक गरेको छ।
कम्पनीले वर्तमान आर्थिक चुनौतीका कारण धेरै बीमालेख व्यतीत भइरहेको अवस्थालाई मध्यनजर गर्दै बीमितलाई सहज रूपमा नवीकरण गर्न र बीमा सुरक्षामा पुनः समेट्ने उद्देश्यसहित “विशेष बीमा पुनर्जागरण योजना २०८२/०८३” लागू गरेको हो।
यो योजना २०८३/०१/०७ देखि २०८३/०२/०५ सम्म लागू रहनेछ। यस अवधिमा व्यतीत भएका बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा पूर्ण छुटसम्मको सुविधा उपलब्ध हुनेछ। कम्पनीले ३० दिनको यस विशेष अवधिलाई बीमितहरूले अधिकतम रूपमा उपयोग गर्न आग्रह गरेको छ।
नेपाल लाइफले देशभरका बीमितलाई लक्षित गर्दै यस प्रकारको ठूलो छुट योजना पहिलो पटक ल्याएको जनाएको छ। कम्पनीले बीमितलाई आफ्नो बीमालेख पुनः सक्रिय गरी आर्थिक सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।
देशकै अग्रणी जीवन बीमा कम्पनीका रूपमा नेपाल लाइफले करिब ३० प्रतिशत बजार हिस्सा ओगटेको छ। कम्पनीले विगत २५ वर्षदेखि देशभरका ७७ जिल्लामा शाखा सञ्जाल र ६९ हजारभन्दा बढी अभिकर्तामार्फत सेवा प्रदान गर्दै आएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ग्राहकको विश्वासलाई केन्द्रमा राख्दै यो योजना ल्याइएको बताए। उनले बीमितलाई पुनः बीमा सुरक्षामा जोडिन आग्रह गर्दै नेपाल लाइफ सधैं ग्राहकको विश्वासिलो सहयात्री रहने प्रतिबद्धता व्यक्त गरे।
