काठमाडौँ । आईपीओ निष्काशनको तयारीमा रहेको प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले पछिल्लो दुई आर्थिक वर्षमा आफ्नो आम्दानीमा उल्लेखनीय वृद्धि गरेको छ। आर्थिक वर्ष २०२४ को तुलनामा आर्थिक वर्ष २०२५ मा कम्पनीको कुल सञ्चालन आम्दानी करिब तीन गुणाले बढेको देखिएको छ।
आर्थिक वर्ष २०२४ मा ६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले २०२५ मा २० करोड ६० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ। कम्पनीको आम्दानीमा मुख्य योगदान विभिन्न कम्पनीहरूको संस्थापक सेयरमा गरिएको लगानीबाट प्राप्त लाभांश रहेको छ। साथै, कम्पनीले पर्यटन र ऊर्जा क्षेत्रका विभिन्न परियोजनामा पनि सक्रिय रूपमा लगानी विस्तार गर्दै आएको छ।
यद्यपि, कम्पनीको सञ्चालन नाफा दरमा भने केही गिरावट आएको छ। आर्थिक वर्ष २०२४ मा ४५.९८ प्रतिशत रहेको नाफा दर २०२५ मा घटेर ३२.०४ प्रतिशतमा सीमित भएको छ।
तर, वित्तीय सूचकहरूमा कम्पनीको समग्र अवस्था बलियो देखिएको छ। ब्याज भुक्तानी क्षमता अघिल्लो वर्षको १४.८० गुणाबाट बढेर ३२.७९ गुणा पुगेको छ, जसले कम्पनीको वित्तीय मजबुती देखाउँछ।
त्यस्तै, ऋण र पूँजी अनुपात ०.०४ गुणाबाट घटेर ०.०२ गुणामा झरेको छ, जसले कम्पनी लगभग ऋणमुक्त अवस्थामा रहेको संकेत गर्दछ। कुल ऋण र नगद प्रवाह अनुपात पनि ०.८७ गुणाबाट घटेर ०.४२ गुणामा पुगेको छ, जसले ऋण तिर्न सक्ने क्षमतामा सुधार देखाउँछ।
कम्पनीले हाल ५३ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) सर्वसाधारणका लागि निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि कम्पनीले केयर रेटिङ्स नेपालबाट ‘केयर–एनपी डबल बी (इस्युअर)’ रेटिङ प्राप्त गरेको छ, जसले मध्यम जोखिम स्तर जनाउँछ।
प्रभु केबलकारले सिद्धार्थ केबलकार, सुर्यकुण्ड जलविद्युत् र त्रिवेणी केबलकारजस्ता परियोजनामा गरेको लगानीका कारण भविष्यमा आम्दानी अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
