विदेशमा रहेका नेपालीलाई आईपीओ अवसर

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आगामी वैशाख २१ गतेदेखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा कार्यरत नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपालीहरूले मात्र यस चरणमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले कुल ३४ करोड रुपैयाँ बराबरको जारी पूँजीमध्ये २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ । सोहीमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता शेयर (मूल्य ८५ लाख रुपैयाँ) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको हो । यसले विदेशमा रहेका नेपालीलाई स्वदेशी उद्योगमा लगानी गर्ने अवसर प्रदान गरेको छ ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

कम्पनीका अनुसार आवेदन दिने अन्तिम म्याद वैशाख २४ गतेसम्म तोकिएको छ । सो अवधिमा पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि जेठ ४ गतेसम्म लम्बिन सक्नेछ ।

लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो शेयर’ प्रणालीमार्फत सहज रूपमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।