काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ का निवर्तमान अध्यक्ष शेखर गोल्छा लाई पक्राउ गरिएको भन्ने खबर सामाजिक सञ्जाल र केही अनलाइन माध्यममा तीव्र रूपमा फैलिँदा उनले उक्त समाचार पूर्ण रूपमा निराधार र भ्रामक भएको स्पष्ट पारेका छन्। गोल्छाले आफू आफ्नै कार्यालयमा नियमित काममा व्यस्त रहेको जनाउँदै पक्राउसम्बन्धी हल्ला कसरी र कहाँबाट फैलियो भन्नेबारे आफू अनभिज्ञ रहेको बताएका छन्। “म अफिसमै छु, काम गरिरहेको छु। यस्तो हल्ला कसले फैलायो, किन फैलायो भन्ने नै थाहा छैन,” उनले भने।
यसैबीच केन्द्रीय अनुसन्धान ब्यूरो ले पनि गोल्छालाई पक्राउ गरिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ। ब्यूरोका प्रवक्ताले सार्वजनिक भएका समाचारहरू केवल अफवाह भएको जनाउँदै यस्ता असत्य सूचनाले भ्रम सिर्जना गर्ने बताएका छन्।
तर, यस्ता घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ-हाम्रो समाज कता जाँदैछ ? सत्य पुष्टि नगरी समाचार बनाउने, सामाजिक सञ्जालमा जाँच नगरी फैलाउने र व्यक्तिको प्रतिष्ठामाथि प्रहार गर्ने प्रवृत्ति किन यति बढ्दो छ ? समाचार केवल सूचना होइन, जिम्मेवारी पनि हो। तर पछिल्लो समय केही माध्यममा ‘पहिले हालौं, पछि हेरौं’ भन्ने प्रवृत्तिले विश्वसनीयताको आधार नै कमजोर बनाउँदै लगेको देखिन्छ।
व्यक्तिको चरित्रमाथि असर पर्ने यस्ता गलत समाचारले केवल व्यक्तिगत छवि बिगार्छ, समाजमा अविश्वासको वातावरण पनि सिर्जना गर्छ। एक क्लिक र एक सेयरको हतारमा तथ्य जाँच नगर्ने बानीले सिंगो सूचना प्रणालीलाई नै प्रश्नको घेरामा पारिरहेको छ।
सूचना प्रवाहको यो तीव्र युगमा सत्यभन्दा छिटो फैलिने झुटो खबरलाई रोक्न सबै पक्ष सचेत हुन आवश्यक छ मिडिया, सामाजिक सञ्जाल प्रयोगकर्ता र सरोकारवाला सबैले। विश्वसनीयता गुमेको सूचना माध्यमले दीर्घकालीन रूपमा आफ्नो अस्तित्व नै गुमाउँछ भन्ने यथार्थलाई अब बेवास्ता गर्न मिल्दैन।
यो घटना केवल एउटा अफवाह होइन, हाम्रो सूचना संस्कृतिको दर्पण हो-जहाँ सुधारको आवश्यकता झन् तीव्र रूपमा देखिएको छ।
यधपी गोल्छा बिगत केहि समय देखि बिबादमा तानिएका भने अवस्य हुन् । उनि लगायत उनको साझेदारी देखिएका सस्था र ब्यब्तिहरुलाई सरकारले पक्राउ गरेर अनुसन्धान गरिरहेका छ ।