आज भयो सरकारी वेबसाइट सबै बन्द : तत्काल सुचारु हुन गाहो

  • Clock icon
    २०८३ कार्तिक ६, बिहीबार

पीएचपी प्रोग्रामिङ प्रविधिमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएका छन्। सम्भावित साइबर आक्रमणबाट सरकारी डेटा र सूचना प्रणाली सुरक्षित राख्न वेबसाइटहरू अफलाइन गरिएको जनाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पीएचपी र यससँग सम्बन्धित सर्भर प्रविधिमा देखिएका दुईवटा गम्भीर सुरक्षा जोखिमबारे एड्भाइजरी जारी गर्दै आवश्यक सुरक्षा उपाय अपनाउन निर्देशन दिएको छ।

सीभीई–२०२६–१०९६१८ र सीभीई–२०२६–१०९६१९ नाम दिइएका सुरक्षा कमजोरीको दुरुपयोग भएमा आक्रमणकारीले प्रभावित प्रणालीमा अनधिकृत रूपमा कोड सञ्चालन गर्न सक्ने जोखिम रहेको सरकारी सूचनामा उल्लेख छ।

यसबाट सरकारी वेबसाइट, तथ्याङ्क र अन्य डिजिटल सेवामा असर पर्न सक्ने भएकाले जोखिम नियन्त्रणलाई प्राथमिकता दिइएको सरकारको दाबी छ ।

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र ९एसडीओसी० ले सम्भावित क्षति रोक्न सावधानीका रूपमा केही सरकारी वेबसाइट तथा प्रणाली अस्थायी रूपमा बन्द गरिएको जनाएको छ। सुरक्षा प्याच लागू गर्ने र प्राविधिक परीक्षण पूरा भएपछि प्रणालीहरू क्रमश: पुन: सञ्चालनमा ल्याइने एड्भाइजरीमा उल्लेख छ।

पीएचपीमा आधारित वर्डप्रेस, जोम्ला, ड्रुपल र म्याजेन्टोजस्ता वेब प्लेटफर्म प्रयोग गर्ने वेबसाइटसमेत प्रभावित हुन सक्ने भएकाले सम्बन्धित प्रणालीका सञ्चालकलाई सुरक्षित संस्करणमा अद्यावधिक गर्न आग्रह गरिएको छ।

सरकारी वेबसाइटहरू पुन: सञ्चालनमा आउने सम्भावना कम छ । कमजोरीको परीक्षण, प्याच कार्यान्वयन र प्रणालीको सुरक्षित सञ्चालन सुनिश्चित गर्नुपर्ने भएकाले सबै सेवा तत्काल सञ्चालनमा आउने सम्भावना कम देखिएको हो ।