काठमाडौँ । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड ले जारी गरेको शतप्रतिशत (१ः१ अनुपात) हकप्रद शेयरमा आवेदन दिने समय सीमा थप गरिएको छ।
कम्पनीले गत चैत २२ गतेदेखि बिक्री खुला गरेको हकप्रद शेयरमा अब लगानीकर्ताहरूले आगामी बैशाख २८ गतेसम्म आवेदन दिन पाउने भएका छन्। यसअघि बैशाख १३ गतेसम्मको समय तोकिएको भए पनि अपेक्षाअनुसार आवेदन नपरेपछि समय थप गर्ने निर्णय गरिएको हो।
बैशाख १० गते बेलुकासम्मको तथ्यांकअनुसार हालसम्म जम्मा १४ लाख ५० हजार २७१ कित्ता शेयरका लागि मात्र आवेदन परेको कम्पनीले जनाएको छ।
कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीका आधारमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो, जसको कुल मूल्य ४० करोड रुपैयाँ बराबर छ।
यो हकप्रद शेयरमा फागुन १ गतेभन्दा अघि अर्थात् माघ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
बुकक्लोज मिति फागुन १ गते तोकिएकाले सो मितिभन्दा अगाडि कायम भएका शेयरधनीहरूले मात्र यस हकप्रद अवसरको लाभ लिन सक्नेछन्।
