काठमाडौँ । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज वैशाख १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।
यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको हो।
कम्पनीले कुल जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये ७ लाख कित्ता स्थानीय बासिन्दाका लागि र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यसअघि नै छुट्याइसकिएको छ।
त्यस्तै, १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र ४२ हजार कित्ता कर्मचारीहरूका लागि बाँडफाँट भइसकेको छ। बाँकी रहेको १७ लाख ४३ हजार कित्ता साधारण शेयर अब सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यो आईपीओ छिटोमा वैशाख २२ गतेसम्म खुला रहनेछ भने पर्याप्त आवेदन नपरेको अवस्थामा ढिलोमा वैशाख ३० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
