काठमाडौँ । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री आजदेखि खुला गरेको छ। कम्पनीले वैशाख २१ गतेदेखि उक्त आईपीओ निष्कासन प्रक्रिया सुरु गरेको हो।
कम्पनीले आफ्नो जारी पुँजीको २५ प्रतिशत बराबरको कुल ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएकोमा त्यसको १० प्रतिशत अर्थात् ८५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको जनाएको छ। प्रति कित्ता १०० रुपैयाँ दरले सेयर मूल्य निर्धारण गरिएको छ।
इच्छुक लगानीकर्ताहरूले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यो आईपीओ छिटोमा वैशाख २४ गते बैंकिङ समयपछि बन्द हुने जनाइएको छ। तोकिएको अवधिमा पूर्ण आवेदन नपरेमा भने निष्कासन अवधि जेठ ४ गतेसम्म लम्बिन सक्नेछ।
लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत वा ‘मेरो सेयर’ प्रणाली प्रयोग गरी अनलाइन आवेदन दिन सक्नेछन्।
कम्पनीको वित्तीय अवस्था तथा जोखिमको मूल्याङ्कन गर्दै केयर रेटिङ्स नेपाल लिमिटेडले सर्वोत्तम पेन्ट्सलाई ‘डबल बी माइनस’ (CARE-NP BB-) रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ। गत पुस ८ गते प्रदान गरिएको यो रेटिङ आगामी माघ ३ गतेसम्म बहाल रहनेछ।
उद्योग विस्तार तथा कार्यगत पुँजी व्यवस्थापनका लागि कम्पनीले पुँजी बजारमार्फत स्रोत सङ्कलन गर्न लागेको जनाएको छ।
