काठमाडौं । सानिमा बैंक को सहायक कम्पनी सानिमा क्यापिटल ले आज (वैशाख २४ गते) देखि १ अर्ब रुपैयाँ बराबरको ‘सानिमा इक्विटी फन्ड–२’ बिक्री खुला गरेको छ।
१० करोड इकाई निष्कासन गरिएको यस बन्दमुखी योजनाको प्रति इकाई मूल्य १० रुपैयाँ कायम गरिएको छ। यो सानिमा क्यापिटलको चौथो बन्दमुखी योजना हो। कम्पनीले बजारमा पर्याप्त तरलता, लगानीकर्ताको बढ्दो आकर्षण तथा विगतको व्यवस्थापकीय अनुभवका आधारमा योजना ४ कार्यदिनभित्रै पूर्ण रूपमा बिक्री हुने विश्वास व्यक्त गरेको छ।
निष्कासन गरिने कुल इकाईमध्ये न्यूनतम १ करोड ३० लाख इकाई अर्थात १३ प्रतिशत इकाई कोष प्रवर्द्धक सानिमा बैंकका लागि सुरक्षित गरिएको छ। त्यस्तै २० लाख इकाई अर्थात २ प्रतिशत योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
फन्डमा आवेदन दिने अन्तिम मिति वैशाख २९ गते तोकिएको छ। उक्त अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्कासन अवधि जेठ ७ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत विकास खनाल का अनुसार योजना विशेषगरी सेयर बजारको गहिरो ज्ञान नभएका वा लगानी व्यवस्थापनका लागि पर्याप्त समय दिन नसक्ने लगानीकर्तालाई लक्षित गरेर ल्याइएको हो। उनका अनुसार फन्डमार्फत लगानीकर्ताको पोर्टफोलियो व्यावसायिक रूपमा व्यवस्थापन गरिनेछ।
१० वर्षे अवधिको यस बन्दमुखी योजनाबाट संकलित रकम ऋणपत्र, सेयर तथा मुद्दती निक्षेपजस्ता विभिन्न वित्तीय साधनमा विविधीकरण गरी लगानी गरिने कम्पनीले जनाएको छ। यस्तो रणनीतिले जोखिम न्यूनीकरण गर्दै दीर्घकालीन रूपमा औसत १० प्रतिशत हाराहारी प्रतिफल दिने ऐतिहासिक अभ्यास रहेको कम्पनीको दाबी छ।
हालको सेयर बजारको उतारचढावलाई कम्पनीले जोखिमभन्दा अवसरको रूपमा लिएको छ। सीईओ खनालका अनुसार फन्डबाट उठेको सम्पूर्ण रकम तत्काल बजारमा परिचालन नगरिने र विज्ञ टोलीको अध्ययनपछि क्रमिक रूपमा लगानी गरिनेछ।
उनले १० वर्षको अवधिले बजारको पूर्ण आर्थिक चक्र समेट्ने भएकाले छोटो समयको बजार गिरावटले दीर्घकालीन प्रतिफलमा ठूलो असर नपार्ने बताए। बैंक निक्षेपजस्तो प्रतिफल सुनिश्चित नभए पनि नेपालमा म्युचुअल फन्डहरूले ऐतिहासिक रूपमा ९ देखि १२ प्रतिशतसम्म औसत प्रतिफल दिएको उदाहरण रहेको उनको भनाइ छ।
सानिमा क्यापिटलअन्तर्गतको ‘सानिमा इक्विटी फन्ड–१’ यसअघि ७ वर्षे अवधि पूरा गरी परिपक्व भइसकेको छ। कम्पनीका अनुसार उक्त फन्डले इकाईधनीलाई उचित प्रतिफलसहित लगानी फिर्ता गरिसकेको छ।
हाल सानिमा क्यापिटलले दुईवटा बन्दमुखी र एउटा खुलामुखी योजना सञ्चालन गरिरहेको छ। बैंकिङ प्रणालीमा पछिल्लो समय तरलता सहज हुनु तथा सुरक्षित लगानीका अन्य विकल्प सीमित बन्दै जाँदा म्युचुअल फन्डप्रति लगानीकर्ताको आकर्षण बढ्दै गएको कम्पनीको निष्कर्ष छ।
प्रमुख कार्यकारी अधिकृत खनालले लगानीकर्तालाई यो योजनालाई अल्पकालीन होइन, ८ देखि १० वर्षको दीर्घकालीन दृष्टिकोणबाट हेरी लगानी अवसरको सदुपयोग गर्न आग्रह गरेका छन्।
