आईपीओ बाँडफाँटमा लगानीकर्ताको उत्साह

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले गत वैशाख २३ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको शेयर आज बाँडफाँट गरिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन गरेको थियो । उक्त आईपीओमा लगानीकर्ताहरूको अत्यधिक आकर्षण देखिएको छ ।

आईपीओमा कुल २९ लाख ४८ हजार ९६६ जनाले आवेदन दिएका थिए । उनीहरूले कुल ३ करोड ३७ लाख ४६ हजार २०० कित्ता शेयरका लागि आवेदन गरेको कम्पनीले जनाएको छ ।

प्राप्त आवेदनमध्ये भेरिफिकेसनपछि २७ लाख ७१ हजार २५२ आवेदन सदर भएका छन् भने बाँकी आवेदनहरू बदर भएका छन् ।

मागभन्दा धेरै गुणा बढी आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा विधिबाट शेयर बाँडफाँट गरिएको हो ।

बाँडफाँटअनुसार २ लाख ५१ हजार ५४५ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । साथै बाँकी रहेको ५ कित्ता शेयर ५ जना भाग्यशाली लगानीकर्तालाई थप १–१ कित्ता गरी बाँडफाँट गरिएको छ । यसअनुसार ती ५ जनाले कुल ११ कित्ताका दरले शेयर पाएका छन् ।

आईपीओमा देखिएको यो उच्च मागले जलविद्युत क्षेत्रप्रति लगानीकर्ताको निरन्तर विश्वास र आकर्षण कायम रहेको संकेत गरेको छ ।