आज श्रावणको पहिलो सोमबार:पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भिड

हिन्दु धर्मावलम्बीको पवित्र महिना साउनको पहिलो सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा भक्तजनको बिहानैदेखि ठूलो भिड लागेको छ।

भगवान् शिवको अत्यन्त प्रिय मानिने साउन महिनाको पहिलो सोमबार विशेष श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ।

सनातन कालदेखि नै साउनको प्रत्येक सोमबार भगवान् शिवको व्रत, पूजा(आराधना, जप, तप, अभिषेक तथा दान-पुण्य गर्ने परम्परा रहँदै आएको छ।

साउनको सोमबार श्रद्धापूर्वक व्रत बसेर शिवको आराधना गर्दा मनोकामना पूरा हुने, पाप नाश हुने, मानसिक शान्ति मिल्ने तथा परिवारमा सुख, शान्ति र समृद्धि छाउने शास्त्रीय विश्वास छ।

धर्मशास्त्रमा यो महिनालाई तप, जप, व्रत, दान र शिवभक्तिका लागि अत्यन्त शुभ समय मानिएको छ।

साउन महिना भगवान् शिवलाई प्रिय हुनुको धार्मिक विश्वास समुद्रमन्थनसँग जोडिएको छ। पुराणअनुसार देवता र दानवहरूले अमृत प्राप्तिका लागि समुद्रमन्थन गर्दा सबैभन्दा पहिले कालकूट (हालाहल) विष निस्किएको थियो।

त्यस विषको प्रभावले सम्पूर्ण सृष्टि सङ्कटमा परेपछि भगवान् शिवले लोक कल्याणका लागि उक्त विष ग्रहण गरेका थिए, जुन समय साउन महिना थियो। त्यसैले आजको दिनलाई विशेष मानिन्छ ।