वीरगञ्ज । तराई मधेश छठ पर्वका सन्दर्भमा अहिले भक्तिमय बनेको छ । सबैतिर छठपर्वको रौनकता छाएको छ । तराईका सबै जिल्लालगायत राजधानीमा समेत यो पर्व हर्षोल्लासका साथ मनाइँदै छ ।
घरपरिवार एवम सन्तानको सुख समृद्धिको कामनाका लागि श्रद्धापूर्वक मनाइने यस पर्वले सामाजिक सद्भाव र समान्ताको सन्देश प्रवाह गर्ने गरेको छ ।
घरका महिलादेखि पुरुष, सानादेखि ठूला सबैको व्यस्तता छठपर्वले बढाएको छ । सबै तालतलाउ तथा, नदि, पोखरीका घाटहरु दुलहीजस्तै सिगारिएका छन् । त्यस्तै वीरगञ्जको घडीअर्वा पोखरीलगायत अन्य ठाउँमा पनि छठको रमझम उत्तीकै छ । दुलहीझैं सिंगारिएका नदि, ताल–तलाऊहरुमा हजारौं भक्तजन भेला हुन थालिसकेका छन् । अत्यन्त निष्ठा र कठोर तपस्यापूर्वक मनाइने छठपर्वको रौनकताले भक्तजनलार्ई निकै नै उत्साहित बनाएको छ । घाटहरुमा लगाइएको झिलिमिली बत्तीेले रातिको दृश्यलाई झनै मनमोहक बनाएको देखिन्छ । यस्तैे गाउँघर, शहरबजारलगायत गल्लीमा गुञ्जिएका छठका सुमधुर गीतले यसको रौनकता अझै थपिएको छ ।
छठपूजाको सजावटमा नेपालमै प्रसिद्ध रहेको वीरगञ्जको घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ ।
छठपूजा व्यवस्थापन समितिले शनिबार साँझ पत्रकार सम्मेलन गरी पूजाको तयारी भइसकेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा समितिका कोषाध्यक्ष कन्हैयालाल गुप्ताले छठघाटको व्यवस्थापन र सजावटको सबै काम पुरा भएको बताउदै व्यवस्थापनको आर्थिक पाटोबारे जानकारी गराए ।
पोखरीको सजावट र व्यवस्थापनमा गरी २७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताउदै गुप्ताले भने, ‘टेण्टपण्डाल सजावटमा १२ लाख ५१ हजार, भिडियोग्राफीमा ६२ हजार, पुरस्कारमा ७ लाख ५० हजार, सरसफाइमा १ लाख १ हजार रुपैया, सुरक्षा व्यवस्थापनमा ६० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।’
सुरक्षा उपसमतिका संयोजक मुन्ना साहका अनुसार छठघाटमा ब्रतालु , दर्शनार्थी र भक्तजनहरुको सुरक्षा सहजताका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी १ सय र घडीअर्वा स्पोर्ट क्लबका ५५ जना स्वंयसेवक परिचालन गरिनेछ । यस्तै छठघाट परिसरभित्र २१ वटा र बाहिर १६ वटा गरी ३८ वटा सिसिटिभी क्यामेरा जडान गरिएको साहले जानकारी गराए ।
न पुजारी न शास्त्रीय विधिविधान, सिधै लोकमान्यता र परम्परामा आधारित सबै जातजाति, वर्ग र उमेर समूह तथा लिंगका व्यक्तिले मनाउने छठ तराई मधेशको लोकपर्व हो । भोजपुरी तथा मैथिलीभाषी क्षेत्रबाट सुरु भएको यो पर्वको पछिल्लो दिनमा बिस्तार हुदै गएको छ । सूर्य देवताको उपाशना र षष्ठी माताको आराधना गरी ३६ घण्टासम्मको निरजला व्रत बसे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको पण्डित अखिलेश तिवारीको भनाइ छ ।
गाउँबस्तीको लागि एउटै पुजाथलोको रुपमा छठघाट हुन्छ । सबै जातजाति संगै बसेर विधिहरु सम्पन्न गर्छन । ‘षष्टीका दिन अस्ताउँदो सुर्यलाई अर्घदान गरी उपासना गरेका ब्रतालु सप्तमी तिथीमा उदाउदो सुर्यलाई अर्घ दिएपछि ब्रत उद्यापन गर्छन,’ आस्थाको रुपमा रहको छठ पर्वविधिबारे ब्रतालु इन्दु देवी बताउछिन ।
दिउँसोभरी निराहार बसेका बर्तालु पञ्चमीको दिन बेलुकी माटाको नयाँ र चोखो चुल्होमा अगहनी चामलमा दुध र गुड (सक्खर) हालेर ‘रसियाव’ र चोखो पारिएको गहुँको पिठोको रोटी पकाएर पूजा गरी खाने र प्रसादस्वरुपमा अरुलाई समेत खुवाउने बिधी गरेर उपवास सुरु गर्छन । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरु नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन् ।
त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उँदाउँदो सूर्यको अर्घ्य दिएपछि छठको विधिवत समापन हुन्छ ।
