इन्द्रचोकमा अझै बाँचिरहेको पोते बनाउने कला

काठमाडौंको इन्द्रचोकमा पोते बनाउने काम गर्दै आएका खालिद दिनले आफ्नो जीवनको करिब ५५–५६ वर्ष यही पेसामा बिताएका छन् । उनी आफूलाई इन्द्रचोकमा पोते बनाउने व्यवसायीमध्ये सबैभन्दा पूराना हुन् ।

‘सायद म नै यो ठाउँमा पोते बनाउने पुरानो व्यक्ति हुँ,’ खालिद भन्छन्, ‘म त बनाउनेमध्ये मात्रै हुँ । सामग्री बाहिरबाट ल्याउँछु । पोते, नौगेडी, छड्केलगायतका माला वा गहना बनाएर तयार गर्छौं ।’

कुनै समय इन्द्रचोकमा पोते बनाउने व्यवसाय निकै राम्रो चलेको उनको अनुभव छ । पहिले यही पेसाबाट परिवार पाल्न, बालबच्चालाई पढाउन र घरखर्च चलाउन सहज हुने गरेको उनी सम्झन्छन् । तर पछिल्ला वर्षमा व्यापार घट्दै गएको उनको भनाइ छ ।

‘पहिला राम्रै थियो । बालबच्चालाई पढाइयो, सबै कुरा पुग्थ्यो । अहिले भने बिहान–बेलुकाको खानलाई ठिक्क छ,’ उनले भने ।

पुर्खाबाट सिकेको यही कामलाई उनले अहिलेसम्म निरन्तरता दिएका छन् । ‘बुबा–बाजेले गरेको काम यही हो, आफूले पनि यही पेसालाई निरन्तरता दिइरहेको छु । पेसा छाड्ने भनेको जीवनको अन्तिम समयमा मात्र होला,’ उनी भन्छन् ।

इन्द्रचोकमा पोतेको व्यापार विशेषगरी चाडपर्वका समयमा बढ्ने गरेको उनी बताउँछन् । तीज र साउन महिनामा पोतेको माग बढी हुने भए पनि अन्य समय भने व्यापार सामान्य रहने उनको अनुभव छ ।

ग्राहकको आवश्यकता र डिजाइनअनुसार पोतेको मूल्य फरक–फरक हुने गरेको छ । ‘५०–६० रुपैयाँदेखि एकसय रुपैयाँसम्मका पोते बनाउँछौं । दुईतीन सय रुपैयाँसम्मका पनि हुन्छन् । नौगेडी बनाउनुपर्यो भने चारपाँच सय रुपैयाँसम्म पर्छ,’ उनले भने ।

दशकौँदेखि इन्द्रचोकको पोते व्यवसायसँग जोडिएका खालिद दिनका लागि यो केवल रोजगारी मात्र नभई पुर्खाले हस्तान्तरण गरेको पहिचान र जीवनको आधार बनेको छ ।

पोते बनाउने पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आएका खालिद दिनका छोरा जमुद्दिन पनि यही व्यवसायमा सक्रिय छन् । ठमेलमा जन्मिएका जमुद्दिनले सन् २००१ देखि अर्थात करिब २५ वर्षदेखि इन्द्रचोकमा पुर्खाले गरेको काम गर्दै आइरहेका छन् ।

‘बुवा पनि यही काम गर्नुहुन्थ्यो, बाजे पनि यही पेसामा हुनुहुन्थ्यो । यो हाम्रो पुख्र्यौली पेसा हो,’ जमुद्दिन भन्छन्, ‘व्यवसाय ठिकै मात्र छ । घरखर्च चलिरहेको छ, परिवार पालिएको छ ।’

तर पहिलेको तुलनामा अहिले पोते व्यवसायमा कमी आएको उनको अनुभव छ । बजार परिवर्तन, सुनको मूल्य वृद्धि र रेडिमेड सामग्रीको बढ्दो प्रयोगले व्यापारमा असर परेको उनी बताउँछन् ।

‘पहिला व्यापार धेरै राम्रो थियो । अहिले अलि घटेको छ । सुनको दाम बढेपछि पनि असर परेको छ,’ उनले भने ।

उनका अनुसार अहिले ग्राहकले परम्परागत रूपमा बनाइने पोतेभन्दा बजारमा पाइने रेडिमेड रातो, हरियो रङका माला बढी रोज्न थालेका छन् ।

‘पहिला जस्तो साउनमा धेरै व्यापार हुँदैन । अहिले रेडिमेड मालाहरू बढी जान्छ,’ उनले भने ।

इन्द्रचोकमा बिक्री हुने पोतेका सामग्री विभिन्न देशबाट आउने गरेको जमुद्दिन बताउँछन् । उनका अनुसार पोते बनाउने सामग्री जापान, चेक रिपब्लिक र चीनबाट आउने गर्छ । ती सामग्री व्यापारीहरूले बाहिरबाट ठूलो परिमाणमा मगाउने गरेका छन् ।

‘एक जनाले मात्रै बाहिरबाट मगाउन सक्दैनन् । चार–पाँच जना मिलेर मगाउने गर्छन् । त्यसको मूल्य र लागतबारे धेरैलाई जानकारी हुँदैन, साहूहरूलाई मात्र थाहा हुन्छ,’ उनले भने ।

आफ्नो परिवारमा पुस्तौँदेखि चल्दै आएको यो पेसा अब अर्को पुस्ताले निरन्तरता दिन्छन् भन्नेमा उनी विश्वस्त छैनन् ।

‘बाजेले गर्नुभयो, बुवाले गर्दै हुनुहुन्छ, मैले गरेँ। म चौथो पुस्तामा हुँ । अब छोरा–छोरीले गर्छन् कि गर्दैनन् थाहा छैन । अहिलेको व्यापारको अवस्था त्यस्तै छ,’ जमुद्दिनले भने ।

ठमेलका स्थानीय जमुद्दिनको परिवारको पुख्र्यौली सम्बन्ध पनि त्यही क्षेत्रसँग जोडिएको छ । ‘म ठमेलमै जन्मेको हुँ । वडा २६ हो, पुख्र्यौली पनि त्यहीँबाट हो,’ उनले बताए ।

दशकौँदेखि इन्द्रचोकको पहिचान बनेको पोते व्यवसाय अहिले बदलिँदो बजार र उपभोक्ताको रुचिसँगै चुनौतीपूर्ण अवस्थामा पुगेको छ । यद्यपि खालिद दिन र जमुद्दिन जस्ता व्यवसायीहरूले परम्परागत सीपलाई अझै जोगाइरहेका छन् ।