यस्तो छ माइतीघर डुबानको कारण 

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा डुवानको मुख्य समस्या आसपास क्षेत्रको पूर्वाधार निर्माण गर्दाको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको प्रतिवेदन पेश भएको छ ।

झरी परेपछि सो क्षेत्र डुबानमा पर्न थालेपछि साउन ५ गते काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनका क्षेत्रमा काम गर्ने निकायका प्रमुख र प्रतिनिधिसहित अनुगमन भएको थियो ।

अनुगमनपछि कार्यवाहक प्रमुख डंगोलले, सम्बन्धित कार्यालयका अधिकारीहरुको संयुक्त टोलीलाई प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन दिएकी थिइन् ।

कार्यवाहक प्रमुखको निर्देशनपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर केसीको संयोजकत्वमा गठित समितिले स्थलगत प्रतिवेदन तयार पारेको हो ।

टोलीको सदस्यहरुमा टोलीले काठमाडौँ महानगरपालिकाका वरिष्ठ इञ्जिनियर जीवन रेग्मी, सडक विभागका इञ्जिनियर पुरुषोत्तम भण्डारी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक उज्वल श्रेष्ठ सदस्य थिए ।

प्रतिवेदन अनुसार माइतीघर मण्डला क्षेत्रको ढल निकास प्रणालीमा गम्भीर इन्जिनियरिङ त्रुटि देखिएको छ । माइतीघर क्षेत्रमा भित्रिने ढलको माथिल्लो भागमा ९० सेन्टिमिटरको ढल छ । यो ढल प्रणाली तल्लो भागमा पुगेपछि ६० सेन्टिमिटरमा साँघुरिएको छ । यसरी माथिल्लो भागबाट आउने पानीको चापलाई तल्लो भागको साँघुरो ढलले धान्न नसक्दा ‘बोटलनेकिङ’ को समस्या भई पानी सडकमा बाहिरिने गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसबाहेक, टुकुचा खोलाको सतह बढेको बेला ढलको पानी खोलामा जानुको साटो उल्टै बस्ती र सडक तिर फर्कने (ब्याक फ्लो) समस्याले गर्दा. पनि माइतीघर जलमग्न हुने गरेको देखिएको छ ।

भौतिक पूर्वाधार बाहेक वातावरणीय र सहरी विकास र व्यवस्थापनका कारणहरूलाई पनि प्रतिवेदनले डुबानको प्रमुख कडीका रूपमा औँल्याएको छ । विगतमा माइतीघर चोकसँगै जोडिएका खुला क्षेत्रहरूले ‘प्राकृतिक जलाधार’ को काम गर्थे । जसले वर्षाको पानीलाई जमिनमुनि सोस्ने गथ्र्यो । तर, अहिले ती क्षेत्रमा जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला सरकारी वकिलको कार्यालय लगायतका ठूला भवनहरू निर्माण भएपछि जमिन कंक्रिटले ढाकियो । यसकारण पानी सोसिने प्राकृतिक प्रक्रिया बन्द भएको छ । यसले गर्दा सतहमा बग्ने पानीको मात्रा अत्यधिक बढ्न गई माइतीघर चोकमा सिधै केन्द्रित हुने गरेको प्राविधिक टोलीको निष्कर्ष छ ।

अतिक्रमणको समस्या पनि माइतीघर डुबानमा उस्तै जिम्मेवार देखिएको छ । अनुगमनका क्रममा कतिपय स्थानमा ढलमाथि नै व्यक्तिगत र सरकारी भवनका संरचनाहरू निर्माण भएका कारण नियमित सरसफाइमा अवरोध पुगेको पाइएको छ । ढलको पाइपभित्र प्लास्टिकजन्य फोहर, बोतल र ढुङ्गा–गिट्टी थुप्रिनुले पानीको बहावलाई थप रोकेको छ ।