छठ पर्व आस्था, भक्ति र संगीतको संगम : संस्कृतिविद् महतो 

  • Clock icon
    २०८३ कार्तिक २६, बिहीबार

काठमाडौं । आस्था, श्रद्धा र भक्तिको पर्व छठ शुक्रबारदेखि सुरु हुँदैछ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाइधुवाइ अर्थात् शुद्ध हुने विधिबाट प्रारम्भ हुन्छ । शनिबार खरना मनाइनेछ । यस दिनदेखि व्रतालुले औपचारिक रूपमा व्रत सुरु गर्नेछन् ।

त्यस्तै, आइतबार (२९ गते) अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरिनेछ भने सोमबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पारण गरी पर्व समापन हुनेछ ।

छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्वबारे नेपाल न्यूज बैंकसँग कुरा गर्दै संस्कृतिविद् शितल महतोले छठलाई आस्था, भक्ति र संगीतको संगमका रूपमा विश्लेषण गरेका छन् । उनका अनुसार तिहार सकिएको छैटौँ दिन श्रद्धा र विश्वासका साथ सूर्यदेव तथा छठी माताको पूजा गर्ने परम्परा छ ।

उनले कार्तिक शुक्ल चतुर्थीदेखि सुरु हुने छठ पर्व चार दिनसम्म मनाइने बताए । पहिलो दिनलाई नहानखान भनिन्छ । यस दिन व्रतालुले नजिकैको नदी, तलाउ, पोखरी वा अन्य जलाशयमा स्नान गरी शुद्ध आचरणसहित पर्वको सुरुवात गर्ने परम्परा रहेको उनले बताए ।

उनले भने, ‘चतुर्थीलाई नहानखान पनि भनिन्छ । त्यो दिन व्रतालुहरू नजिकको तलाउ, जलाशय वा पोखरीमा गएर नुहाउँछन् । त्यस दिनदेखि माछा, मासु, लसुन, प्याजलगायतका तामसी भोजन त्याग गरिन्छ । नुहाएर आएपछि शुद्ध भएर छठ पर्वको व्रत प्रारम्भ हुन्छ ।’

संस्कृतिविद् महतोका अनुसार छठको दोस्रो दिन अर्थात् पञ्चमीमा खरना मनाइन्छ । यस दिन व्रतालु दिनभर उपवास बसेर साँझ चन्द्रमाको पूजा गरी खीर, पुरीलगायतका प्रसाद चढाउने गर्छन् । प्रसाद ग्रहण गरेपछि व्रतालुको कठिन निर्जल व्रत सुरु हुने उनले बताए ।

उनले भने, ‘पञ्चमीका दिन खरना हुन्छ । साँझ कुलदेवता भएको कोठामा लिपपोत गरेर विधिपूर्वक प्रसाद अर्पण गरिन्छ । चन्द्रमालाई खीर, पुरी चढाइन्छ । बिहानैदेखि भोकै बसेका व्रतालुले साँझ प्रसाद चढाइसकेपछि ग्रहण गर्छन् र त्यसपछि उनीहरूको निर्जल व्रत सुरु हुन्छ ।’

उनका अनुसार छठको मुख्य दिन षष्ठी हो । यस दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन् । घरका मुख्य महिलाले व्रत बस्ने र परिवारका अन्य सदस्यले प्रसाद तथा पूजाका सामग्री लिएर घाटसम्म पुगेर सहयोग गर्ने परम्परा रहेको उनले बताए ।

उनले भने, ‘षष्ठी छठको मुख्य दिन हो । यस दिन अस्ताउँदो सूर्यको पूजा गरिन्छ । घरका मुख्य महिलाले व्रत गर्छन् भने पुरुष, बालबालिकालगायत परिवारका सबै सदस्य घाटसम्म पुग्छन् । त्यहाँ संगीत र भक्तिमय वातावरण हुन्छ । श्रद्धा र विश्वासको अटुट सम्बन्ध देखिन्छ ।’

छठ पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यको पूजा गरिनु यसको विशिष्ट विशेषता भएको पनि उनले बताए । सामान्यतया अन्य पर्वमा अस्ताउँदो सूर्यको पूजा गर्ने चलन कम भए पनि छठमा दुवै अवस्थाका सूर्यलाई समान श्रद्धाका साथ अघ्र्य दिने परम्परा रहेको उनको भनाइ छ ।

उनले भने, ‘अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई पूजा गर्ने चलन छ । यसको अर्थ समयलाई जुनसुकै अवस्थामा पनि मान्यता दिनुपर्छ, समयप्रति विश्वास गर्नुपर्छ र प्रतिबद्ध हुनुपर्छ भन्ने सन्देश यसले दिन्छ भन्ने मलाई लाग्छ ।’

अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि कतिपय स्थानमा प्रसाद घर ल्याउने चलन भए पनि अधिकांश ठाउँमा रातभर घाटमै जाग्राम बसेर छठी माताको पूजा गर्ने परम्परा रहेको उनले बताए । रातभर विभिन्न लोकभाकाका गीत तथा भजन गाएर भक्तिमय वातावरणमा समय बिताइन्छ ।

पर्वको अन्तिम दिन सप्तमीमा सूर्योदयसँगै उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरिन्छ । त्यसपछि व्रतालु घर फर्किएर पारण गरेसँगै चारदिने छठ पर्व सम्पन्न हुने उनले बताए ।

संस्कृतिविद् महतोले पछिल्लो समय छठ पर्व सीमित भूगोल र समुदायमा मात्र नभई विश्वव्यापी रूपमा विस्तार हुँदै गएको बताए । उनका अनुसार छठप्रतिको आस्था, श्रद्धा र विश्वासका कारण यसको लोकप्रियता बढ्दै गएको छ ।

उनले भने, ‘छठ पर्व अहिले विश्वव्यापी रूपमै विस्तार हुँदै गएको छ । पहिले केही सीमित ठाउँमा मात्र मनाइन्थ्यो । तर यसको भक्ति, श्रद्धा र विश्वासको संगमका रूपमा छठी माताप्रतिको आस्था बढ्दै गएको छ । यो पर्व परापूर्वकालदेखि मनाउँदै आएको किंवदन्ती पनि छ ।’

छठ पर्वमा शुद्धता, संयम, आस्था र पारिवारिक सहभागितालाई विशेष महत्व दिइन्छ । कठिन निर्जल व्रतका बाबजुद श्रद्धालुले भक्तिपूर्वक मनाउने यस पर्वले धार्मिक तथा सांस्कृतिक एकताको सन्देशसमेत दिने गरेको छ ।

  • Clock icon
    २०८३ कार्तिक २६, बिहीबार