काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गते भएका घटनामा संलग्न भएर अपराध गर्ने सबैलाई निष्पक्ष छानबिन गरी सजाय दिनुपर्ने बताएका छन्।
जेन–जी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा बुधबार थापाले भदौ २४ गते आफ्नो घर जलेको र परिवारसमेत आगोमा पर्ने अवस्था बने पनि आफ्नो पीडालाई मुख्य विषय नबनाउने बताए।
उनले भदौ २४ गते धेरैका घर तथा सार्वजनिक सम्पत्ति जलेको र थुप्रै परिवारले कहिल्यै नमेटिने घाउ पाएको बताए। तर आन्दोलनका क्रममा सन्तान गुमाएका अभिभावक तथा घाइते युवाको पीडासामु आफ्नो घर जलेको पीडा गौण हुने उनको भनाइ थियो।
थापाले भदौ २३ गते शान्तिपूर्ण आन्दोलनमा राज्यबाट चरम दमन भएको र आन्दोलनमा घुसपैठ गरी हिंसा भड्काउने काम भएको दाबी गरे। उनले आन्दोलनमा घुसपैठ गर्ने र दमन गर्ने दुवै पक्षको पहिचान गरी कारबाही गर्नुपर्ने बताए।
‘भदौ २४ गते आवेग र आक्रोश थियो। तर आवेग र आक्रोशलाई प्रयोग गरेर त्यहाँ एउटा ठूलो प्रायोजित हिंसा पनि भयो,’थापाले भने।
उनले सिंहदरबार, अदालतलगायतका सार्वजनिक संरचनामा आगजनी र ठूलो ध्वंस कसले गरायो भन्ने प्रश्नको जवाफ खोजिनुपर्ने बताए।
‘को थिए सिंहदरबार जलाउने? को थिए अदालत जलाउने? त्यो दिन त्यत्रो ठूलो ध्वंस गराउने को थियो? उकास्ने को थियो? योजना बनाउने को थियो? कसले ग¥यो? किन आज कोही चुइँक्क बोल्दैन?’ उनले प्रश्न गरे।
थापाले भदौ २३ र २४ गतेका घटनामा संलग्नलाई कारबाही नगरे समाजमा दण्डहीनताले प्रश्रय पाउने चेतावनी दिए। आवेगमा व्यक्त भएको प्रतिक्रियालाई माफी दिन सकिए पनि आवेगलाई प्रयोग गरेर अपराध गर्नेले भने माफी पाउन नहुने उनको भनाइ थियो।
सरकारले निर्वाचित भएपछि भदौ २४ गतेको घटनाको निष्पक्ष अनुसन्धान तथा छानबिन गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै थापाले अनुसन्धान कहाँ पुग्यो भन्दै प्रश्न गरे।
उनले भदौ २३ गतेको अध्ययनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न, त्यस दिन दमन गर्ने तथा हिंसा भड्काउनेहरूको पहिचान गरी कारबाही गर्न र भदौ २४ गते अपराध गर्नेहरूमाथि समेत निष्पक्ष छानबिन गरी सजाय दिन सरकारसँग माग गरे।
उनले भने,भदौ २३ मा अपराध गर्नेले पनि सजाय पाउनुपर्छ, २४ मा अपराध गर्नेले पनि सजाय पाउनुपर्छ। अनि मात्रै राज्य जवाफदेही राज्य बन्ने बाटोमा अगाडि बढ्न सक्छ।’
