काठमाडौं । नेपालको राहदानी छपाइको ठेक्का पाएको जर्मन कम्पनी भेरिडोसलाई विशेष अदालतले साधारण तारिखमा राख्न आदेश दिएको छ ।
विशेष अदालतका सदस्यद्वय नारायण पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले भेरिडोससँग कुनै धरौटी नलिई साधारण तारिखमा छाड्ने आदेश दिएको हो ।
राहदानी छपाइ प्रक्रियामा भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका कर्मचारीसहित ठेक्का पाएको जर्मन कम्पनी भेरिडोसविरुद्ध पनि मुद्दा दायर गरेको थियो ।
अख्तियारले मुद्दा दायर गरेपछि जर्मनीमा रहेको भेरिडोसले आफ्नो तर्फबाट अदालतमा उपस्थित हुन नेपाली प्रतिनिधिलाई अख्तियारनामा दिएको थियो ।
अख्तियारनामा प्राप्त गरेका प्रतिनिधि विशेष अदालतमा उपस्थित भएका थिए । त्यसपछि अदालतमा उनीहरूको बयान लिइएको थियो ।
बयानपछि भएको थुनछेक बहसका क्रममा अदालतले भेरिडोसका प्रतिनिधिलाई धरौटीमा समेत नराखी साधारण तारिखमा छाड्ने आदेश दिएको हो ।
अब उक्त मुद्दाको कानुनी प्रक्रिया विशेष अदालतमा नियमित रूपमा अघि बढ्नेछ ।
