काठमाडौं उपत्यकाका ६ रुटमा अर्को महिनाबाट थप २८ वटा रात्रिबस चल्ने भएका छन्।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलको अध्यक्षतामा बुधबार बसेको बैठकले रात्रिकालीन यातायात सेवा विस्तार गर्ने निर्णय भएको हो।
रात्रिबस चल्ने काठमाडौँ महानगरसँगै अन्य स्थानीय तहका मेयर, उपमेयर, साझा यातायात र सरोकारवालाको बैठकले ६ रुटमा थप २८ रात्रिबस चलाउने तय गरेको छ।
काठमाडौँ, ललितपुर, चन्द्रागिरी र बुढानीलकण्ठ नगरपालिकाले साझा यातायातसँगको समन्वयमा गत वैशाख १ गतेबाट रात्रिबस चलाउँदै आएका छन्। आउँदो असोज ३ गतेबाट रात्रिकालिन यातायात सेवा विस्तार गरेर काठमाडौँ उपत्यकाको उत्तर–दक्षिण र पूर्व–पक्षिम दुवै भागलाई जोड्ने निर्णय गरिएको छ।
अब गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्कहुँदै ठमेलसम्म ६, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चन्द्रागिरीको नागढुङ्गासम्म चार, कीर्तिपुरदेखि काठमाडौँको नयाँ सडक नेपाल वायु सेवा निगमसम्म चार र र चक्रपथमा दुईतर्फी फन्को लगाउन आठ वटा रात्रिबस सञ्चालन हुनेछन्।
चक्रपथमा रात्रिबस सञ्चालन भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सेवा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिनेछ। यसरी यात्रा गर्दा अधिकतम ८० रुपियाँ भाडा लाग्ने भएको छ।
रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गरिएको कार्यवाहक मेयर डंगोलले बताइन्।
‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित तीन महिना परीक्षण सेवा दियौँ,’ त्यसपछि अध्ययन गरिएको बताउँदै डंगोलले भनिन्, ‘उपत्यकाका नगरपालिकाहरूको वित्तीय साझेदारीमा सेवालाई निरन्तरता दिँदा दिगो र सुरक्षित सेवा हुनेछ।’
अहिले भाडा बढाइने उनले बताइन्। रात्रिबस सेवा सञ्चालनका लागि नपुग रकम जनघनत्व, आकार र स्थानीय तहको क्षमताअनुसार दायित्व लिनुपर्ने उनको प्रस्ताव थियो। त्यसलाई पारित गर्दै बैठकले वित्तीय साझेदारीमा सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।
बैठकमा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले अहिले अभ्यास गरिएको यातायात सेवा यात्रुका लागि भरपर्दो सेवा भएको बबताए। यसमा अन्य स्थानीय तहको सहभागिता बढ्दै जाँदा लागत कम हुने भएकोले कसैलाई धेरै भार नहुने उनको भनाइ थियो।
बैठकमा चन्द्रागिरीका गिरी, कीर्तिपुरका मेयर कृष्णमान डंगोल, चन्द्रागिरीकी उपमेयर बसन्ती श्रेष्ठ, काठमाडौँका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठलगायतको उपस्थिति रहेको थियो। त्यस्तै, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिलजंग शाह, साझा यातायातका अध्यक्ष शुशिलराज प्याकुरेल पनि सहभागी थिए।
यससँगै रात्रिकालिन बस सेवा सञ्चालनको रुट परमिट सहजताका लागि विद्यमान यातायातसम्बन्धी कानुनमा समय सापेक्ष संशोधनका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय भएको छ।
रात्रिकालिन शहरी जीवन प्रवर्द्धन गर्न काठमाडौँ उपत्यकाभित्रका स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सार्वजनिक स्थलमा जात्रा पर्व, मेला, महोत्सव आयोजना गरी रात्रिकालीन जीवनशैलीलाई सक्रिय बनाउने निर्णय गरेको छ।
