आज पनि विभिन्न क्षेत्रमा वर्षा

  • Clock icon
    २०८३ आश्विन १६, शुक्रबार

देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले हाल देशभर आंशिक बादल लागेको छ । बागमती प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा तथा देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ।

कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्मको तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। देशका तराई भूभागमा आंशिक बादल रही बिहानीपख हुस्सु लाग्नेछ।

कोशी प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा तथा बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।