अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्।
विश्व बैंक समूहका अध्यक्ष अजय बांगाको निमन्त्रणामा अर्थमन्त्री वाग्ले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति अमेरिकाको राजधानी वासिङ्टन डीसी प्रस्थान गरेका हुन्।
अर्थ मन्त्रालयका अनुसार वाग्लेले विश्व बैंक, अमेरिकाको अर्थ मन्त्रालय र इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन -डीएफसीका उच्च अधिकारी तथा निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग असोज १९ – २० गते भेटवार्ता गर्ने कार्यक्रम छ।
साथै द्विपक्षीय सहायता अभिवृद्धि, पुनर्निर्माण, वित्तीय कारबाही कार्यदल-एफएटीएफको ग्रे लिस्टबाट बाहिरिने नेपालको प्रयास तथा बृहत् आर्थिक सुधारका विषयमा छलफल हुनेछ।
गत भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीका कारण पूर्वाधारमा भएको क्षतिको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालन गर्ने विषयमा पनि अर्थमन्त्री वाग्लेले विश्व बैंक र अमेरिकी सरकारका प्रतिनिधिसँग विशेष छलफल गर्नेछन्।
यस क्रममा सडक र विद्युत् प्रसारण लाइनलगायत आर्थिक रूपमा महत्त्वपूर्ण पूर्वाधारमा विकास साझेदार तथा निजी क्षेत्रको लगानी आकर्षित गरी रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने उपायबारे पनि छलफल गरिने अर्थमन्त्री वाग्लेको सचिवालयले जनाएको छ।
