‘देशको नेतृत्व लिने आँट गर्नुस्, हाम्रो साथ रहन्छ’,गगनलाई प्रचण्डको संकल्प

नेपाली कम्युनिस्ट पार्टी -नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापालाई देशको नेतृत्व गर्ने आँट गर्न आग्रह गर्दै आफू पूर्णरूपमा साथ दिन तयार रहेको बताएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले देश, लोकतन्त्र र समावेशितासहितको संविधान चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै सबै राजनीतिक दल मिलेर संविधान सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

प्रचण्डले कांग्रेसमा भएको नेतृत्व परिवर्तनलाई ‘निरन्तरतामा क्रमभंग’ को संज्ञा दिँदै गगन थापालाई नयाँ इतिहास निर्माण गरेको भन्दै बधाइ दिए । उनले थापाको नेतृत्वमा कांग्रेसलाई नयाँ बनाउने प्रयास सफल होस् भन्ने शुभकामना दिँदै पार्टीभित्रका सबै नेता तथा कार्यकर्तालाई एकीकृत गरेर अघि बढ्न आग्रह गरे ।

‘तपाईंले एउटा नयाँ इतिहास निर्माण गर्नुभयो । मैले सधैँ भन्ने गर्थें, निरन्तरतामा क्रमभंग गर्न सक्नुपर्छ । तपाईंले निरन्तरतामा क्रमभंग गरेर नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डोर्‍याउनुभयो । विशेष बधाई भन्न चाहन्छु,’ प्रचण्डले भने ।

उनले कांग्रेसका नेता विश्वप्रकाश शर्मा र प्रदीप पौडेललगायतलाई पनि बधाई दिए । गगन थापा नेतृत्वमा पुग्नुमा उनीसँगै उभिएका सहयोद्धाहरूको पनि महत्त्वपूर्ण भूमिका रहेको प्रचण्डको भनाइ थियो ।

शान्ति सम्झौतामा हस्ताक्षर गरेर शान्ति प्रक्रियामा आएपछि कांग्रेसका सबै महाधिवेशनमा शुभकामना दिने अवसर पाएको स्मरण गर्दै उनले यसपटकको महाधिवेशन विगतभन्दा फरक रहेको बताए ।

अहिले देशले असाधारण जटिल र चुनौतीपूर्ण राजनीतिक परिस्थिति सामना गरिरहेको उनको भनाइ थियो ।

प्राकृतिक विपद्का कारण ठूलो मानवीय क्षति भएको र खर्बौँ रुपैयाँबराबरको सम्पत्ति नष्ट भएको प्रसंग उल्लेख गर्दै प्रचण्डले यस्तो विषम परिस्थितिमा कांग्रेसको महाधिवेशन भइरहेको बताए ।

उनले गगन थापासँग आफ्नो पुरानो सहकार्य पनि स्मरण गरे । थापा आफू नेतृत्वको दोस्रो मन्त्रिपरिषद्मा स्वास्थ्यमन्त्री हुँदा उनको सक्रियता, गतिशीलता र क्षमता देखेर आफू प्रभावित भएको प्रचण्डले बताए ।

‘गगन थापाको सक्रियता, गतिशीलता र क्षमता देखेर मैले मन्त्रिपरिषद्मा भन्ने गर्थें, तपाईं राम्रो योजना ल्याउनुहोस्, स्वतन्त्रतापूर्वक मेरो समर्थन हुन्छ,’ उनले भने ।
थापालाई आफूले त्यतिबेलै एक दिन देशको नेतृत्व गर्ने अवस्थामा पुग्न सक्ने बताएको स्मरण गर्दै प्रचण्डले अहिले त्यो सम्भावना देखिएको उल्लेख गरे । उनले थापालाई देशको नेतृत्व गर्ने आँट गर्न आग्रह गर्दै आफू पूर्ण रूपमा साथ दिन तयार रहेको बताए ।

‘हिजो स्वास्थ्यमन्त्री हुँदै गर्दा जस्तै तपाईं यो देशको नेतृत्व गर्ने आँट गर्नुहोस्, हामी तपाईंलाई सम्पूर्ण रूपमा साथ दिन तयार छौँ,’ प्रचण्डले भने ।

प्रचण्डले कांग्रेसको नयाँ नेतृत्वलाई पार्टीभित्रका सबै नेता तथा कार्यकर्तालाई समेटेर विशाल राजनीतिक शक्ति निर्माण गर्न पनि आग्रह गरे । नयाँ पुस्ताले पुराना पुस्तालाई उमेरका आधारमा अपमानित गर्ने प्रवृत्ति देखाउन नहुने उनको भनाइ थियो ।

‘यहाँ एउटा प्रवृत्ति छ, बुढापाका, वृद्ध भनेपछि तिनलाई अपमानित गर्ने प्रवृत्ति नयाँ भन्नेहरूले देखाएका छन् । हामी लोकतन्त्रवादी, हामी शान्तिका पक्षधरले त्यो प्रवृत्ति देखाउनु हुँदैन,’ उनले भने ।

उनले अहिले देशको लोकतान्त्रिक व्यवस्था, समावेशितासहितको संविधान र राजनीतिक स्थिरतामाथि चुनौती देखिएको बताए । सरकारका कतिपय अभिव्यक्ति, क्रियाकलाप र गतिविधिले देश अराजकतामा जाने हो कि भन्ने गम्भीर खतरा उत्पन्न भएको उनको टिप्पणी थियो ।

यस्तो अवस्थामा सबै राजनीतिक दल मिलेर संविधानलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिँदै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशिताको रक्षा गर्नु साझा दायित्व भएको बताए ।

उनले शान्ति सम्झौतासँग सम्बन्धित केही काम अझै पूरा हुन बाँकी रहेको उल्लेख गर्दै ती काम समयमै टुंग्याउनुपर्नेमा जोड दिए । बाँकी काम पूरा हुन नसके देश फेरि अर्को कठिन परिस्थितिमा जान सक्ने उनको चेतावनी थियो ।

शान्ति सम्झौताका जीवित हस्ताक्षरकर्तामध्ये एकका रूपमा उनले कांग्रेस सभापति थापालाई त्यस प्रक्रियाका बाँकी काम पूरा गर्न विशेष आग्रह गरे ।

‘हामीले जुन पहिचान र अधिकार स्थापित गरेका थियौँ, त्यसलाई अझ सुदृढ पार्न तपाईंको नेतृत्वमा अगाडि बढ्नेछौँ,’ प्रचण्डले भने ।

गत वर्षको जेनजी आन्दोलनपछि भएको राजनीतिक परिवर्तन र निर्वाचनमा कांग्रेस तथा वामपन्थी शक्तिहरूको खुम्चिएको अवस्थाबारे टिप्पणी गर्दै उनले राजनीतिक आकारलाई मात्र ठूलो कुरा ठान्न नहुने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र कांग्रेस सभापति थापासहित विभिन्न राजनीतिक नेताप्रति आफ्नो समान सम्मान र भरोसा रहेको उनको भनाइ थियो ।

उनले आगामी दिनमा सबै राजनीतिक शक्तिबीच समझदारी कायम गरेर समृद्ध नेपाल निर्माण गर्न सकिने विश्वास व्यक्त गरे ।

आफूले विगतमा द्वन्द्वलाई शान्ति प्रक्रियामा, शान्ति प्रक्रियालाई संविधान निर्माणमा र संविधान निर्माणलाई गणतन्त्र स्थापनामा रूपान्तरण गर्ने क्रममा पटकपटक ‘क्रमभंग’ गरेको उल्लेख गर्दै प्रचण्डले अब नयाँ राजनीतिक परिवर्तनका लागि लामिछानेतर्फ संकेत गरे ।

‘पहिला मैले क्रमभंग गर्थें । शान्ति प्रक्रियालाई युद्धमा, युद्धलाई शान्तिमा ल्याउँथेँ, शान्तिलाई संविधानमा लान्थेँ, संविधानलाई गणतन्त्रमा । अब मलाई क्रमभंग गर्न अलि गाह्रो भएको हो कि ? अब पालो रविजीको । तपाईंले पनि क्रमभंग गर्नुस् । अनि बन्छ कि नेपाल,’ उनले भने ।