नेपालका लागि भारतले सुधाकर दलेलालाई नयाँ राजदूतमा प्रस्ताव गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी भारतको विदेश सेवाका अनुभवी कूटनीतिज्ञ मानिन्छन्। उनलाई नेपालको राजदूत नियुक्तिको लागि भारतले नेपालको परराष्ट्र मन्त्रालयमा नोट भर्वल पठाएको हो।
नेपालको राजदूतमा प्रस्ताव हुनुअघि उनी भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवको जिम्मेवारी सम्हालिसकेका छन्।
सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका सुधाकरले आफ्नो कूटनीतिक करिअर इजरायलको तेलअभिभबाट सुरु गरेका थिए। त्यसपछि उनले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगमा विभिन्न जिम्मेवारी सम्हालेका थिए।
सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका दलेलाले नयाँ दिल्लीस्थित प्रधानमन्त्री कार्यालयमा सन् २००९ देखि २०११ सम्म निर्देशकका रूपमा काम गरेका थिए।
उक्त जिम्मेवारीमा उनले दक्षिण एसियाली छिमेकी, पूर्वी एसिया, इन्डो–प्यासिफिक क्षेत्र, खाडी, मध्यपूर्व र अफ्रिकी मुलुकसँग भारतको सम्बन्ध हेरेका थिए।
नेपाल र भुटान मामिलामा समेत उनी अनुभवी मानिन्छन्। उनले सन् २००६ मा भारतीय विदेश मन्त्रालयमा उत्तर विभागका निर्देशक र सन् २०१६ देखि २०१९ सम्म सोही विभागका सहसचिवका रूपमा काम गरेका थिए। उक्त विभागले नेपाल र भुटानसँग भारतको सम्बन्ध हेर्छ।
व्यापार तथा आर्थिक नीतिमा पनि उनको लामो अनुभव छ। उनले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा व्यापार नीति निर्देशकका रूपमा काम गरिसकेका छन्। साथै विश्व व्यापार संगठन (डब्लूटीओ) मा रहेको भारतको स्थायी नियोगमा दुईपटक जिम्मेवारी सम्हालेका उनले सन् २०१४ देखि २०१६ सम्म भारतका डेपूटी स्थायी प्रतिनिधिका रूपमा काम गरेका थिए।
त्यसबाहेक, उनले वासिङ्टन डीसीस्थित भारतीय दूतावासमा सन् २०२० देखि २०२२ सम्म डेपुटी चिफ अफ मिसनका रूपमा कार्यरत थिए।
उनले सन् २०२५ सेप्टेम्बर १ देखि भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवको जिम्मेवारी सम्हालिरहेका थिए।
यो भूमिकामा रहँदा उनले भारतको आर्थिक कूटनीति, ग्लोबल साउथका देशसँग विकास साझेदारी, अफ्रिकासँगको साझेदारी, बहुपक्षीय आर्थिक सम्बन्ध तथा नयाँ र उदाउदा रणनीतिक प्रविधिसम्बन्धी विषय हेरिरहेका थिए।
उनी ब्रिक्स, आईबीएसए, भारत, इजरायल, यूएई र अमेरिका ९आईटूयूटू०का लागि भारतको प्रतिनिधि समेत हुन्। परराष्ट्र सेवामा प्रवेश गर्नुअघि दलेलाले इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेका थिए।
यसअघि नेपालका लागि भारतीय राजदूत रहेका नवीन श्रीवास्तव आफ्नो कार्यकाल पूरा गरी भारत फर्किएका छन्।
सन् २०२२ जुनमा नेपालका लागि २६औँ भारतीय राजदूतका रूपमा नियुक्त भएका श्रीवास्तव १ अक्टोबर २०२६ मा कार्यकाल पूरा गरेर स्वदेश फर्किएका हुन्।
