आज नोभेम्बर १९ विश्व ट्वाइलेट दिवस

आज नोभेम्बर १९ बिहिबार विश्व शौचालय दिवस विभिन्न मुलुकमा मनाइँदैछ। सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने प्रवृत्तिको अन्त्यका साथै दिगो र स्वच्छ सरसफाइ सेवाको विस्तारमा जोड दिँदै यो दिवस मनाउन लागिएको हो।

सन् २०१३ देखि आधिकारिक रूपमा मनाउन प्रारम्भ भएको यो दिवसको उद्देश्य पानीको गुणस्तर सुधार, जलस्रोतको दिगो व्यवस्थापन र पानी तथा सरसफाइमा अन्तर्राष्ट्रिय सहकार्य तथा क्षमता अभिवृद्धि हो।

सुरक्षित र सबैका लागि पहुँचयोग्य शौचालय निर्माण अहिलेको अत्यावश्यक प्राथमिकता भएको जनाउँदै संयुक्त राष्ट्रसङ्घले सबैका लागि पानी र सरसफाइ हासिल गर्ने लक्ष्यलाई सशक्त रूपमा उठाउने दिनका रूपमा यो दिवसको उपयोग हुनुपर्नेमा जोड दिएको छ।

तीन अर्ब ४० करोड मानिस अझै सुरक्षित रूपमा व्यवस्थित सरसफाइ सेवाबाट वञ्चित भएका तथा ३५ करोड ४० लाख मानिस अझै खुला स्थानमा दिसापिसाब गर्न बाध्य भएका जनाउँदै राष्ट्रसङ्घले दिगो विकासको छैटौँ लक्ष्य हासिल गर्न र महिला र बालिकालाई जोखिमबाट जोगाउन शौचालयको सुनिश्चितता अपरिहार्य भएको बताएको छ।

विश्वव्यापी रूपमा सरसफाइका मुद्दामा क्रियाशील हुन उक्त विश्व संस्थाले आह्वान गर्दै आज विश्वका विभिन्न देशमा व्यक्तिगत, सामुदायिक, सरकारी, निजी क्षेत्र तथा गैरसरकारी संस्थालाई सामुदायिक सरसफाइ कार्यक्रम, विद्यालयमा सरसफाइबारे कक्षा, सार्वजनिक छलफल, नीतिसंवाद, अनुभव आदानप्रदानलगायत गतिविधि सञ्चालन गर्न अनुरोध गरेको छ।

ट्वाइलेट, चर्पी, शौचालय, रेस्टरुम लगायत थुप्रै नाम छन् । हरेक मानवलाई अपरिहार्य कुरा हो तथापि हामीकहाँ भनेँ अत्यन्त फोहोर या दुरवस्था जनाउने ठाउँ जनाउनु पर्दा ट्वाइलेट जस्तो छ्या भन्ने चलन छ ।

बच्चाले राम्रो नपढेमा ट्वाइलेट मा थुनिदिन्छु भन्ने धम्कीहरू त हामी मध्य धेरैले भोगेका अनि खपेका छौँ । जीवनका लागि अपरिहार्य अनि सरसफाइ को पर्याय शौचालयलाई किन यति सारो घृणा अनि वितृष्णाका रूपमा हेरिएको हो भन्ने तर्कना कहिलेकाहीँ लाग्ने गर्दछ ।

दुखद कुरा त के भनेँ नेपालका अधिकांश शहर या गाँउहरुमा व्यवस्थित शौचालयको सुविधा छैन । बाहिर निस्कन पर्दा एकफेर घरको शौचालयमा शौच अनि मूत्र खाली गरेर निस्कने हामी मध्य धेरैको बानी छ , यसो गर्नाले बाटोमा अफ्ठेरो पर्दैन हैन र ?

अस्पताल देखि सिनेमा घर सम्मा अधिकांश शौचालयहरू दुर्गन्ध हुने गरेको हामीले पाएका छौँ भनेँ अहिले आएर शपीगं मल लगायतका ठाँउहरुमा भनेँ सुस्तरी शौचालय सभ्यता अनि सरसफाइ बढोत्तरी भएकै हो । विश्वले यसै शौचालय अनि यसको महत्त्वलाई सबैसामु उजागर गर्दे हरेक वर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवस मनाउँदछ।सन् २०३० सम्मको दीर्घकालीन विकास लक्ष्यमा संसारका हरेक बासिन्दालाई सर सफाइका श्रोत र सुविधा का साथ फालिने पानी लाई पूर्नपयोग गर्ने श्रोत र संरचना पनि सुलभ बनाउने लक्ष्य रहेको छ ।

सानैदेखि लगाऊँ बानी, चर्पी जाउन् हाम्रा नानी

यो एउटा छन्दगत थेगो हो जुन नेपालमा झाडापखाला, हैजा अनि अन्य मलमूत्रबाट फैलन सक्ने रोगहरू अनि सङ्क्रमणहरू रोक्नका लागि यस्ता उदाहरणीय कुराहरू प्रयोगमा ल्याइएको थियो । विकासको इतिहास त्यति पुरानो छैन तर विकासका धेरै मापदण्डहरू परिवर्तन भएको देख्ने पुस्ताहरू अझै जीवितै छन् ।

मान्छेहरूले सभ्यताका क्रमसँगै आफ्ना रहनसहन अनि सर सफाइका मापदण्ड दुरुस्त राख्न धेरै परिवर्तन र विकास गरेका छन् । ढुङ्गे युगबाट आजसम्म आई पुग्दा हाम्रो दिनचर्यासँग विभिन्न आनिवानी, चालचलन र अभ्यासहरू थपिँदै आएका छन् । शौचालय पनि तिनीमध्येको एक हो । सुरुसुरुमा खोलाका किनार, खेतबारी या पोखरीका डिलहरूमा शौच गर्ने मान्छेहरूले बिस्तारै एउटा छुट्टै सानो कोठा शौचालयको रूपमा प्रयोग गर्न थालेका हुन् । विश्व प्रसिद्ध यात्री मार्कोपोलोले आफ्ना साथी रस्टीसेलोलाई लेखेको आत्मवृत्तान्त या यात्रा संस्मरणमा त्यस बखतको चिनिया सभ्यतामा चर्पी र कागजी पैसाको प्रयोगका बारेमा व्याख्या गरेको पाइन्छ । आज हामीहरू विभिन्न प्रकारका शौचालयहरू प्रयोग गर्दछौ, कुनै कुर्सीजस्तो बसेर शौच गर्न मिल्ने, कुनै पुरानै खालको पैताला टेकेर गरिने । गाउँघरमा सेप्टी ट्याङ्क या रिँग हालेर बनाइएको शौचालयहरूको प्रचलन अझै छ । शौचालयलाई फोहोर ठाउँका रूपमा हेरिने गरिए पनि सर सफाइमा वर्तमान सभ्यता र विकाशमा भएका प्रयोगहरूका कारण अब फोहर शौचालय हैन आफू बस्ने कोठाभित्रै सङ्क्रमण रहित सफा र आकर्षक शौचालय हामी घर घरमा हेर्न सक्छौँ । हरेक बिहान सामान्यतया हामी सबै शौचालय जान्छौँ । दिनभरिमा एउटा मानव सबैभन्दा धेरै जाने एक मात्र ठाउँ नै शौचालय हो ।

शौचालयको प्रयोगपछि गर्नुपर्ने पहिलो काम भनेको साबुन पानीले हात धुने र साबुन नभएमा खरानी पानीले धुनुपर्ने कुराहरू पनि विभिन्न सञ्चार श्रोतहरूमार्फत जस्तैस् टिभी, रेडियोबाट प्रचार प्रसार गर्ने गरिएको छ । अझै पनि शौचालय प्रयोग गरिसकेपछि पानी हाल्नुहोला, सफा गर्नुहोला भन्नेजस्ता सन्देशहरू सार्वजनिक शौचालयहरूमा लेखिएको पाइन्छ, यस अर्थमा शौचालय प्रयोग पनि एउटा सभ्यता हो जुन हामीले अवलम्बन गर्न जरुरी छ ।

शौचालय प्रयोगको विश्वव्यापी तथ्याकं

अझै पनि संसारभरि लगभग अढाई करोड मान्छेहरूले शौचालय प्रयोग नगरेको तथ्याङ्क छ, करिब १०जना मध्य एक जना संसारको मान्छेले अझै पनि शौचालयमा शौच गर्ने विकल्प नपाएको विश्व स्वास्थ्य सङ्गठनको सन् २०१५ को सर्वेक्षणले देखाएको छ ।

नेपालमा बिस्तारै घरघरमा शौचालयको दैनिक प्रयोगमा वृद्धि हुन थालेको भए पनि बढ्दो सहरीकरणको नमुना जिल्लाहरूमा नगर विस्तारका सोचहरूमा सार्वजनिक शौचालय किन प्राथमिकतामा पर्दैन, भएको किन उचित सरसफाइ तथा व्यवस्थापन छैन ?

नेपालमा शौचालयका स्वरूपहरू

सुरुसुरुमा बनाइएको शौचालयमा भने धान या काठ राखेर शौच भने बाहिर गर्न जाने चलनलार्इ अब नयाँपुस्ताले चिर्दै गएको त छ तथापि सार्वजनिक शौचालयको अवस्था दर्दनाक छ । शौचालयको प्रयोग कालागि शौचालय नभएको घरमा छोरी नदिने देखि सामाजिक बहिस्कारसम्म गर्ने ह्वीम सृजना गरेर विभिन्न सरकारी र गैर सरकारी संस्थाहरूले व्यापक भूमिका खेलेका छन् ।

तर नेपालका विकसित सहरहरूमै पनि सहज सार्वजनिक शौचालयको व्यवस्था छैन जसका कारण धेरै अप्ठेरो पर्ने गर्दछ । कतिपय ठाउँमा त सार्वजनिक शौचालयको सुल्क यति महँगो छ कि शायद संसारभरमै सबै भन्दा धेरै पैसा तिरेर मलमूत्र त्याग गर्ने हामी नेपाली नै हौँ कि भन्ने भान हुन्छ । घरघरमा शौचालयको सही उपयोगका कुराहरू जानकारी दिन जरुरी छ ।

विदेशीहरूले ट्वाइलेट पेपरले शौच सफा गर्दछन् अनि फ्लश गरेर बगाउँदछन् भने हामी अधिकांश नेपालीहरू पानीले धुने र बगाउने शौचालय प्रयोग गर्दछौँ, दुवै तरिका सही हो । प्रयोग गर्ने आआफ्नै तरिकाहरू हुन्छन् तर सरसफाइ महत्त्वपूर्ण कुरा हो ।

मुख्य कुरा आउने पुस्ताहरूलाई शौचालय फोहोर ठाउँ हो भन्ने भावना विकास हुन नदिऊँ, शौचालय सफा गरेर कोही सानो हुँदैन र यसलाई सफा गरेर सङ्क्रमणरहित बनाउनुको विकल्प छैन भन्ने जानकारी र सन्देशहरू हरेक वर्ग, लिङ्ग, जात जाति, समुदायसम्म पुर्‍याउनु जरुरी छ । याद राखौँ सफा शौचालयको सही प्रयोग पनि सभ्य समाजको एउटा अभिन्न अङ्ग हो ।