आइसीसी लिग – २ : आमानसग भिड्द नेपाल, शीर्ष ६ स्थान जोगाउन जित्नैपर्ने दबाब

  • Clock icon
    २०८३ आश्विन २७, मंगलवार

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग – २ अन्तर्गत आफ्नो अन्तिम शृङ्खला खेलिरहेको नेपालले आज मंगलबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

रोहितको शतकमा नेपालद्वारा क्यानडा पराजित

ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार आज बिहान सवा ११ बजे खेल सुरु हुनेछ । एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने लक्ष्यसहित मैदानमा उत्रिएको नेपालका लागि यो खेल निकै महत्त्वपूर्ण छ ।

आइतबार क्यानडालाई २४ रनले पराजित गरेपछि नेपालको शीर्ष ६ मा रहँदै ओडीआई मान्यता जोगाउने सम्भावना कायम छ । तर, एउटा जितले मात्र नेपालको स्थान सुरक्षित हुने अवस्था छैन ।

नेपालले बाँकी खेलमा पनि राम्रो प्रदर्शन गर्नुपर्नेछ । क्यानडासँगको अर्को प्रतिस्पर्धा र ओमानसँगका खेलले नेपालको लिग–२ यात्रा कहाँ पुगेर टुङ्गिन्छ भन्ने निर्धारण गर्नेछन् ।

आइतबार ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो । नेपालको सुरुवात भने कमजोर रह्यो । आसिफ शेख ४ रनमा र ईशान पाण्डे खाता नखोली आउट भएपछि नेपाल दबाबमा परेको थियो ।

कप्तान रोहितकुमार पौडेलले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै १०१ रनको शतकीय पारी खेलेपछि नेपालले सम्मानजनक योगफल तयार पारेको थियो । उनले १२७ बलमा ८ चौका र १ छक्का प्रहार गरेका थिए । यो रोहितको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो शतक हो ।

गुल्शन झाले ३४ बलमा ४८ रन बनाए भने बसिर अहमदले ३० रनको योगदान दिए । क्यानडाका अखिल कुमारले ४ विकेट लिंदा सुखजिन्दर सिंहले ३ विकेट हात पारे ।

२३६ रनको लक्ष्य पछ्याएको क्यानडालाई नेपाली बलरले ४८.४ ओभरमा २११ रनमै समेटे । क्यानडाका आरोन जोन्सनले सर्वाधिक ४४ रन बनाउँदा हर्ष ठाकरले ३५ रन जोडे ।

नेपालका करण केसी, ललित राजवंशी, नन्दन यादव र सन्दीप लामिछानेले समान २ विकेट लिए । नेपालले ब्याटिङमा कप्तानको शतक र बलिङमा सामूहिक प्रदर्शनका आधारमा महत्त्वपूर्ण जित निकालेको थियो ।

आइतबारको जितपछि नेपालले क्यानडालाई पछि पार्दै अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ । नेपालको ३३ खेलबाट २६ अंक छ भने क्यानडाको ३४ खेलबाट २५ अंक छ ।

लिग–२ मा आठ टोली सहभागी छन् । अमेरिका, स्कटल्यान्ड र नेदरल्यान्ड्सले शीर्ष तीन स्थानमा रहँदै सन् २०२७ को विश्वकप छनोट प्रतियोगितामा स्थान सुरक्षित गरिसकेका छन् ।

ओमान र नामिबिया पनि नेपालभन्दा माथि छन् । शीर्ष ६ मा रहने टोलीले आफ्नो ओडीआई मान्यता जोगाउने भएकाले नेपाल र क्यानडाबीचको प्रतिस्पर्धा निर्णायक बनेको हो ।

लिग–२ अन्तर्गत नेपालले असोज ३१ गते शनिबार फेरि क्यानडासँग र कात्र्तिक २ गते सोमबार ओमानसँग खेल्ने तालिका छ ।