नेपाल डेरी एसोसिएसन बागमती प्रदेशद्वारा भोटेकोशी विपद् प्रभावित सदस्यलाई राहत हस्तान्तरण

ललितपुर, असोज २९, नेपाल डेरी एसोसिएसन बागमती प्रदेश कार्यसमितिको आयोजनामा नेपालीहरूको महान् पर्व विजया दशमी, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान एवं भोटेकोशी विपद् प्रभावितका लागि राहत हस्तान्तरण कार्यक्रम–२०८३ सम्पन्न भएको छ।

नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष श्री टीका प्रसाद घिमिरेको अध्यक्षता, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष श्री हेमराज ढकालको प्रमुख आतिथ्यता एवं नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको विशेष आतिथ्यतामा एसोसिएसनको केन्द्रीय कार्यालय, शंखमूलमा कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा नेपाल डेरी एसोसिएसनका संस्थापक एवं सल्लाहकार श्री राजन दाहाल, बोर्डका सदस्य श्री रामभक्त दाहाल, एसोसिएसनका वरिष्ठ उपाध्यक्ष श्री दीपप्रसाद धमला, उपाध्यक्ष श्री मनोज प्रसाद घिमिरे, सहसचिव श्री रमेश सञ्जेल, नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघका महासचिव श्री श्रीकृष्ण भण्डारी, नेपाल डेरी एसोसिएसन नुवाकोटका अध्यक्ष श्री बालकृष्ण ढुङ्गाना लगायत विभिन्न पदाधिकारी, सदस्य तथा अतिथिहरूको उपस्थिति रहेको थियो।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएका डेरी व्यवसायी तथा एसोसिएसनका सदस्यहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले राहत हस्तान्तरण कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नुवाकोट जिल्लाका त्रिशुल डेरी प्रा.लि., न्यू स्टार नुवाकोट डेरी सप्लायर्स, भुवनेश्वरी डेरी सप्लायर्स तथा त्रिशुली दूध संकलन तथा बिक्री केन्द्रसँग आबद्ध प्रभावित सदस्यहरूलाई राहत हस्तान्तरण गरिएको थियो।

राहत संकलन तथा व्यवस्थापनमा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको अगुवाइमा नेपाल डेरी एसोसिएसनका पदाधिकारी, सदस्य तथा आबद्ध डेरी उद्योगी व्यवसायीहरूले सहयोग गरेका थिए। विपद्का बेला सदस्यहरूलाई साथ दिने, उनीहरूको आर्थिक तथा सामाजिक हितमा सहकार्य गर्ने र आपसी सहयोगको भावना बलियो बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कुरा केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले कार्यक्रममा भनाई राखेका थिए ।

कार्यक्रमले चाडपर्वको खुसी साटासाट गर्नुका साथै विपद्मा परेका व्यवसायी तथा सदस्यहरूको दुःखमा साथ दिनुपर्ने मानवीय भावना र सामाजिक उत्तरदायित्वको सन्देश दिएकोको कुरा कार्यक्रममा बागमती प्रदेशका उपाध्यक्ष ध्रुव तिवारीले स्वागत मन्तव्य राख्ने क्रममा बोलेका थिए । त्यसै गरि सल्लाहकार राजन दाहालले एसोसिएसनले आफ्ना सदस्यहरुलाई अफ्ट्यारो परेको समयमा सधैं साथ दिने गरेको कुरा बताएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकालले नेपाल डेरी एसोसिएसन अत्यन्तै चलायमान एसोसिएसन रहेको र सधैं आफ्ना सदस्यको हितमा काम गर्ने गरेको कुरा बताउँदै आफ्ना सदस्यहरुलाई परेको कठिन समयमा सबै सदस्यहरु मिलि यसरी सहयोग गरेको कुरामा आफू अत्यन्तै खुशी रहेको कुरा बताए । नेपाल डेरी एसोसिएसनले सधैं उद्योग वाणिज्य महासंघसँग सधैं सहकार्य गरि काम गरेको कुरा स्मरण गराए।

कार्यक्रमको समापन गर्दै बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरेले विजया दशमी, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।