देशमा बाढीपहिरो- कांग्रेसले यसपटक कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

  • Clock icon
    २०८३ कार्तिक ४, मंगलवार

नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ ।

देशमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको र शोकको अवस्था रहेकाले यसपालि चियापान कार्यक्रम आयोजना नगरिने कांग्रेसले जनाएको छ ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले भोटेकोशीमा आएको बाढीका कारण ठूलो संख्यामा मानिसको मृत्यु तथा बेपत्ता भएको र बूढीगण्डकीमा आएको बाढीले समेत थप जनधनको क्षति पुर्‍याएकाले यसपटकको चियापान कार्यक्रम नगर्ने निर्णय गरिएको हो ।

कांग्रेसले बाढीपहिरोबाट प्रभावित परिवारप्रति संवेदना व्यक्त गर्दै दु:खको यस घडीमा कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।

कांग्रेसले २०३४ सालदेखि कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह आयोजना गर्दै आएको छ ।

पार्टीका संस्थापक नेता बीपी कोइराला २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ सालको कोजाग्रत पूर्णिमामा शुभकामना आदानप्रदान र आपसी सद्‌भाव अभिवृद्धि गर्ने उद्देश्यले चियापान कार्यक्रम शुरू गरेका थिए ।

यसैबीच, कांग्रेस सभापति गगनकुमार थापाले चाडपर्व मनाउँदा भड्किलो शैली अपनाउनुको सट्टा शान्त र संयमित रूपमा परिवारमा सीमित रहेर मनाउन आग्रह गरेका छन् ।