इजरायलमा नयाँ सरकार गठनमा २४ घण्टे अल्टिमेटम

डिसेम्बर ६ सम्म नयाँ सरकार बनेन भने आउनेछ नेतन्याहुको पालो ।

इजरायलमा नयाँ सरकार गठनको तयारीमा रहेका विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई विस्तृत प्रस्ताव पठाएको तर अहिलेसम्म कुनै प्रतिक्रिया नआएको बताएका छन्।

सामाजिक सञ्जाल एक्समा लेख्दै आइजेनकोटले नेतन्याहुकै अनुरोधमा उनलाई प्रमुख मुद्दा समेट्ने विस्तृत प्रस्ताव गोप्य च्यानलमार्फत गत आइतबार नै पठाइएको जानकारी गराएका हुन्।

‘हामीले सम्झौताका लागि महत्त्वपूर्ण प्रस्ताव गरेका थियौँ। यो सबै अर्को गठबन्धन सम्झौतामा हस्ताक्षर गर्नुअघि गरिएको थियो’, उनले एक्समा लेखेका छन्, ‘तर अहिलेसम्म हामीले यी मुद्दाहरूमा कुनै जवाफ पाएका छैनौँ।’

आफू इजरायललाई आवश्यक एकताप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै यसका लागि राजनीतिक मूल्य चुकाउन तयार रहेको पनि बताएका छन्।

आइजेनकोटले थप लेखेका छन्, ‘यदि लिकुड पार्टी वास्तविक एकताका लागि तयार छ भने म अर्को २४ घण्टा उसको मनसायको गम्भीरता परीक्षण गर्न तयार छु। म आज राति नेतन्याहु र उनको टोलीलाई हर्जलियाको ड्यान अकाडिया होटलमा आमन्त्रण गर्छु, जहाँ म मेरो वार्ता टोलीसँग बसिरहेको छु।’

नयाँ सरकार गठनका लागि इजरायलमा राजनीतिक रस्साकस्सी जारी छ।

इजरायली सञ्चारमाध्यमका अनुसार नेतन्याहुले विपक्षी नेता आइजेनकोटलाई पालैपालो प्रधानमन्त्री बन्ने प्रस्ताव गरेका छन्।

इजरायली संसद्‌मा कुल १२० सिट छन्। सरकार बनाउन ६१ सांसदको समर्थन आवश्यक पर्छ। हाल नेतन्याहुको लिकुड पार्टी र यसका सहयोगीसँग ४६ सांसद छन्।

उता विपक्षीतर्फ भने आइजेनकोट, लिबरम्यान, नाफ्ताली बेनेट, यायर लापिड र यायर गोलान गरेर कुल ४८ सांसद छन्।

यसको अर्थ विपक्षी हाल नेतन्याहुको गठबन्धनभन्दा केवल २ सिटले अगाडि छ। यद्यपि सरकार बनाउन थप १३ सांसद चाहिन्छ। युनाइटेड टोराह जुडाइजमका ७ सांसद एकजुट भए भने आइजेनकटलाई सरकार बनाउन ६ सिट मात्र पुग्दैन।

यसका लागि आइजेनकोटले मन्सुर अब्बासको अरब पार्टी राअममा आफ्नो ध्यान केन्द्रित गर्नेछन्। यो पार्टीले सरकारमै सामेल भएर वा बाहिरबाट समर्थन गरेर उनलाई मद्दत गर्न सक्छ। अब्बास यसअघि सन् २०२१ र २०२२ को बिचमा नाफ्ताली बेनेट र यायर लापिड सरकारमा पनि सहभागी भएका थिए। अब उनी अर्को सरकारमा पनि सामेल हुन चाहन्छन्।

डिसेम्बर ६ सम्म नयाँ सरकार बनेन भने आउनेछ नेतन्याहुको पालो

राष्ट्रपति इसाक हर्जोगले नोभेम्बर ८ मा आइजेनकोटलाई सरकार गठन गर्ने अनुमति दिँदै डिसेम्बर ६ सम्मको समयसीमा तोकेका छन्।यस अवधिमा आइजेनकोटले बहुमत जुटाउनुपर्नेछ। यद्यपि आवश्यक परेमा राष्ट्रपतिले यो समयसीमा १४ दिन बढाउन सक्छन्।

आइजेनकोटले तोकिएको समयभित्र सरकार गठन गर्न सकेनन् भनेचाहिँ राष्ट्रपतिले नयाँ सरकार बनाउने अर्को मौका नेतन्याहुलाई दिन सक्छन्। नेतन्याहुले पनि बहुमत प्राप्त गर्न नसकेमा भने इजरायलले नयाँ चुनाव गर्नुपर्ने हुन सक्छ।