नेपाल बिमा प्राधिकरणले बिमालेख धितोमा दिने कर्जाबारे स्पष्ट जानकारी दिन बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।
कम्पनीहरूले बिमालेख धितो राखेर बिमितलाई कर्जा दिँदै आएका छन् । अब त्यसबारे कम्पनीले बिमितलाई सम्पूर्ण जानकारी दिनुपर्ने प्राधिकरणको निर्देशन छ । कर्जा रकम, ब्याज गणना विधि, कर्जा भुक्तानी गर्नुपर्ने समयतालिका र भुक्तानी नगर्दा हुने परिणामबारे विद्युतीय माध्यम वा पत्रमार्फत स्पष्ट बुझिने गरी समयमै जानकारी दिनुपर्ने बताइएको छ ।
बिमा कम्पनीहरूले बिमालेख सुरक्षणमा प्रदान गरिएका कर्जा असुलीका क्रममा भुक्तान हुन बाँकी रहेको कर्जा रकम तथा ब्याजको गणना विधिका सम्बन्धमा बिमितलाई पर्याप्त जानकारी नदिने र अन्तिममा परिपक्व भुक्तानी तथा दाबी रकमबाट कट्टा गर्ने गर्दा बिमित तथा हिताधिकारीलाई मर्का परेको भनी गुनासो आएको सन्दर्भमा प्राधिकरणले बिमा कम्पनीहरूलाई त्यस्तो निर्देशन दिएको हो ।