तीजले असमानता अन्त्य गरी समाजलाई सबल बनाउँछ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्वलाई संरक्षण र प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका छन् । उनका अनुसार तीजले भावनात्मक सम्बन्ध, प्रेम, स्नेह र सृजनशीलताको प्रतीकका रूपमा नेपाली समाजमा विशेष महत्व बोकेको छ ।

तीज २०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले देशभित्र र बाहिर रहेका सबै नेपाली दिदीबहिनीहरूको सुख, शान्ति, समृद्धि र धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावको कामना गरेका छन् ।

उनले तीज पर्वले आपसी भ्रातृत्व, मेलमिलाप, एकता, धैर्य र समर्पणलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । साथै, यस पर्वले महिला माथि हुन सक्ने विभेद, हिंसा र अन्याय अन्त्य गर्दै सभ्य र समानतामूलक समाज निर्माणतर्फ नयाँ ऊर्जा दिने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले तीजलाई नेपाली संस्कृति मात्र नभई सामाजिक न्याय र समतामूलक समाज निर्माणतर्फ अग्रसर बनाउने शक्तिको रूपमा व्याख्या गरेका छन् ।