ओलीको प्रतिवेदन : आय, जमिन र पहुँचका आधारमा नेपाली समाज तीन वर्गमा

नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमार्फत ‘नेपाली विशेषताको समाजवाद’को खाका सार्वजनिक गरेका छन् । उनले नेपाली समाजलाई आय, जमिन स्वामित्व, सम्पत्ति र पहुँचका आधारमा तीन वर्गमा विभाजन गर्दै पार्टीको प्रमुख लक्ष्य निम्न वर्गको पक्षपोषण हुने बताएका छन् ।

प्रतिवेदनअनुसार वार्षिक आम्दानी डेढ लाख रुपैयाँभन्दा कम हुने, भूमिहीन वा १ हेक्टरभन्दा कम जमिन हुने, बैंक तथा वित्तीय पहुँच नहुने र आधारभूत सेवाबाट वञ्चित नागरिकलाई निम्न वर्ग मा राखिएको छ । ओलीले यिनै वर्गलाई सशक्त बनाउन पार्टीले प्राथमिकता दिने उल्लेख गरेका छन् ।

त्यसैगरी, वार्षिक आम्दानी १.५ लाखदेखि ५ लाख रुपैयाँसम्म हुने, १–३ हेक्टर जमिन स्वामित्वमा राख्ने, आधुनिक प्रविधि तथा सम्पत्तिमा केही पहुँच भएका नागरिकलाई मध्यम वर्ग मा समेटिएको छ । प्रतिवेदनमा मध्यम वर्गलाई सक्षम तर अस्थिर भनिएको छ ।

५ लाख रुपैयाँभन्दा बढी वार्षिक आम्दानी गर्ने, ३ हेक्टरभन्दा बढी जमिन वा शहरी जग्गा स्वामित्वमा राख्ने, बैंक, बीमा, उद्योग वा ठूला व्यवसायमा लगानी गर्नेहरूलाई भने उच्च वर्ग मा राखिएको छ । प्रतिवेदनमा उच्च वर्गले रोजगारी सिर्जना गरे पनि श्रम शोषण गर्ने र परिवर्तनविरोधी भूमिका खेल्ने आरोप लगाइएको छ ।

सामाजिक–जातीय आयाम

प्रतिवेदनले वर्गीय विभाजनसँगै सामाजिक तथा जातीय असमानतालाई पनि जोडेको छ । दलित र मुस्लिम समुदाय ठूलो मात्रामा भूमिहीन, सिमान्त किसान र न्यून आय वर्गमा देखिएका छन् । तथ्यांकअनुसार दलित समुदायमा गरिबी दर ३० प्रतिशतभन्दा माथि पुगेको छ ।

२००४ को मानव विकास सूचकांकमा बाहुन/क्षेत्रीको सूचकांक ०.५५२, नेवारको ०.४२४ र मुस्लिम समुदायको ०.४०१ मात्र रहेको देखाइएको छ । गरिबी घट्ने दरमा पनि ठूलो अन्तर छ — बाहुन/क्षेत्रीमा ४६ प्रतिशतले गरिबी घटेको भए पनि, दलितमा २१ प्रतिशत र मुस्लिममा केवल ६ प्रतिशत मात्र सुधार भएको उल्लेख छ ।

समाजवादको नयाँ खाका

प्रतिवेदनमा प्रस्तुत गरिएको ‘नेपाली विशेषताको समाजवाद’ले विविधता र बहुलतालाई समाजवादी प्रणालीसँग सामञ्जस्य गर्दै परिपूर्ण लोकतन्त्र, राष्ट्रिय स्वाभिमान र समावेशी विकासलाई मार्गदर्शन गर्ने दाबी गरिएको छ । ओलीका अनुसार, यो अवधारणाले नेपाली समाजलाई समान अवसर र न्यायपूर्ण विकासतर्फ उन्मुख गर्नेछ ।