शुक्लाफाँटा नजिक राजमार्गमै लुटपाट, दुई मजदुर लुटिए

  • Clock icon
    २०८२ भाद्र २७, शुक्रबार

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत अर्जुनी क्षेत्रमा सेतो स्कुटरमा आएका तीन जना अपरिचित व्यक्तिले दुई मजदुरलाई लुटपाट गरेका छन् ।

कालिकोट, पलाता–७ का कलमबहादुर धामी र नैनबहादुर धामीलाई खुकुरी देखाउँदै मोबाइल र १४ हजार भारु लुटिएको पीडितले बताएका छन् ।

‘सवारीसाधन नपाएपछि महेन्द्रनगरबाट पैदल हिँडिरहेका थियौँ । तीन जना स्कुटरमा आएका व्यक्तिले खुकुरी देखाउँदै मोबाइल र पैसा खोसे,’ कलमबहादुरले बताए ।

उनीहरू पाँच जना साथीहरू फर्किँदै गरेका मध्ये दुई जना मात्र लुटपाटमा परेका हुन् । भारतमा मजदुरी गर्न गएका उनीहरूले काम नपाएपछि घर फर्कने क्रममा बीच बाटोमै घटनामा परेका हुन् ।

लुटपाटबारे इलाका प्रहरी कार्यालय झलारीमा जानकारी गराइएको छ । प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार पीडितले दिएको विवरणका आधारमा लुटेराको खोजी कार्य भइरहेको छ ।