वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई तिहाइ र बालेन्द्र शाह नेतृत्वको दुई नजिकको सरकारको तुलना हुन नसक्ने वताएका छन् ।
वि.स.२००७ साल फागुन ७ गते भएको संसदीय निर्वाचनमा कांग्रेस भारी वहुमत ल्याएको थियो । तर सात साल र हालको परिस्थिति तुलना गर्न नसकिने विरहीको भनाइ छ । विहरीसँगको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को करिब दुई तिहाईलाई के बुझ्ने ?
‘रास्वपाले दुई तिहाई ल्यायो भन्दैमा बीपीको समयमा आएको दुई तिहाईसँग तुलना गर्न सकिदैन । त्यसबेलाको परिस्थिति र अहिलेको परिस्थिति फरक हो । त्यो बेला एउटा मूल्य मान्यतामा आधारित राजनीतिक दलहरू थिए । सोही आधारमा मतदान भएको थियो । अहिले त रास्वपाले आफ्नो सिद्धान्त, नीति नै भर्खर तयार पारिरहेको छ,’ । ,‘रास्वपाले पहिलो अधिवेशन नै चुनावपछि आयोजना गरेर नीतिहरु बनाइरहेको छ । नीति अझै प्रष्ट भइसकेको छैन । उनीहरु आफैं हाम्रो नियतमाथि शङ्का नगर्नु, नयाँ भएकाले केही कमी कमजोरी हुनसक्छ भनेर भनिराखेका छन्। त्यसैले जनताले सिद्धान्त, नीति र कार्यक्रम चाहेका छन् । हाल आएको चुनावी परिणाम नीति, सिद्धान्त र विचारको होइन् ।’
त्यसो भए के हो ? के बुझ्ने सर्वसाधारणले रास्वपाले ?
नेपालको पछिल्लो राजनीतिक घट्नाक्रम, वातावरण, आक्रोश र अस्थिर वातावरणमा नयाँ विकल्प खोज्ने सन्दर्भमा जनताले भोट दिएको हो।
‘उहाँहरूको तालुमा आलु फल्यो या चिठ्ठा पर्यो भनौँ । रास्वपालाई आएको भोट त्यही हो । तर रास्वपामा नयाँ वा युवा पुस्ता, पढेलेखेका व्यक्तिहरू छन् । यद्यपि, कस्ताले टिकट पाए भन्ने कुरा नेतृत्वमा बसेकाहरुलाई थाहा पनि नहोला । मतदाताहरूले त अनुहार पनि देखेका छैनन् र चुनावपछि उनीहरू जनताबीच मतदाताबीच धन्यवाद दिन पनि गएका छैनन्,’ । जनताले आशा गरेर भोट दिएको हो त्यहि बुझ््ने त्यहि नै हो । रास्वपले परिवर्तनका लागि जिम्मेवारी छ, नियमानुसार अघि बढ्नुपर्छ भन्ने नै बुझ्ने हो । घमण्ड गर्ने होइन ।
करिब दुई तिहाई मत ल्याएर सरकार बन्यो रास्वपाको तर भूमिकामा गिरावट आएको हो ?
सरकारसँग निराश भइहाल्नु पर्दैन । हालको सरकारप्रति वा उनीहरुको भूमिकालाई लिएर निराश बन्नुपर्ने अवस्था अझै बनिनसकेको छ ।
‘सरकारसँग निराश भइहाल्नुपर्ने अथवा विकल्प खोजिहाल्ने अवस्था चाहिँ सिर्जना भएको छैन। लोकतान्त्रिक प्रक्रियाबाट सत्तामा आएको छ, केही गर्छु भन्न खोजिराखेको छ । केही मौका चाहिँ दिनुपर्छ, केही समय पर्खिनुपर्छ,’ ‘तर अहिले जुन लक्षण देखिएको छ, त्यो चाहिँ अपेक्षा गरिए अनुसारको छैन । वाचा अनुसार जुन गतिमा सरकारलाई अगाडि बढाउने भनिएको थियो, नयाँ काम गर्ने भनिएको थियो, त्यो अनुसार काम भएको छैन् ।’
पहिलेका नियुक्तहरूलाई सब खारेज गर्ने, प्रेसले पाइरहेको सुविधाहरूलाई नियन्त्रित गर्ने, सरकारी मिडियाबाहेक अरू कुनै मिडिया चाहिँदैन भन्ने नीति अपनाउनु साथै संसदप्रतिको उत्तरदायित्वको ख्याल नगर्ने, सांसदहरूले बोलेको कुरालाई सम्बोधन नगर्ने जस्ता मानसिकता देखिएको छ । त्यस कारण मतको दुरूपयोग हुने हो कि भन्ने चिन्ता चाहिं छ ।’
बीपी कोइरालाले त आफ्नो आलोचना गर्नको निम्ति पैसा दिएर पत्रिका निकाल्न लाउनुभएको स्मरण गर्दै भन्छु आलोचनाले थप गल्ती गर्नबाट जोगाउँछ भन्ने चेत बीपीमा रहेको भुल्नु हुँदैन ।
‘आलोचना गर्नु नराम्रो कुरा होइन भन्नेमा बीपी सचेत हुनुहुन्थ्यो । तर अहिले त आलोचना नै सुन्न नसक्ने, कसैले आलोचना ग-यो गालीको वर्षा आउँछ । यो गलत काम हो, गलत रणनीति हो । जतिपनि यस्ताखाले कामहरु भइरहेका छन् ति संविधान विपरीत रहेछ भन्ने कुरा स्वयं अदालतले एकपछि अर्को निर्णय गरिदिएकाले थोरै राहत भएको छ,’ ।
संविधानप्रति जिम्मेवार बन्न जरूरी छ ?
अवस्य संविधानप्रति जिम्मेवार बन्न जरूरी छ । यतिबेला संविधान परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको भएपनि सबै पार्टी त्यो कुरामा प्रतिबद्ध रहेको उल्लेख गर्दै विरहीले नेतृत्व कमजोर रहेको छ । ‘जसले संविधानको एउटा अभ्यासमा सहभागी भएको छैन ।
जुन पार्टीले आफ्नो राजनीतिक दृष्टिकोण समेत क्लियर गरेको छैन। अझ यहाँसम्म कि पार्टीका कतिपय मुख्य नेताहरू अहिले पनि राजतन्त्र नै चाहन्छन् वा ल्याउन खोज्नेहरु छन् । त्यस्ता व्यक्तिहरू मुख्य ठाउँमा बसिराखेका पनि छन् । यस्तो अवस्थामा अरू पार्टीहरू संविधान संशोधन गर्न तयार हुन्छन भन्नेमा विश्वस्त वातावरण देखिएको छैन । सुरूदेखि अन्तिमसम्मको धारालाई चलाउन खोज्दा देश प्रतिगमनतिर जाने हो कि भन्ने आशंका वा त्रासपनि छ । यस्तो आशङ्का गर्ने राजनीतिक दलहरूले होइन ।
सरकारको क्रियाकलापको हेरिरहेका आम मानिसहरू हुन् । स्वतन्त्र नागरिकहरू र बौद्धिक समाजमा यो कुराले वहस गराएको छ,’ ।
संविधान संशोधनका सन्दर्भमा राजनीतिक दलहरू–कांग्रेस, एमाले, नेकपाहरुले संयमित ढङ्गले काम गरिरहेको मेरो भनाइ छ । किनभने धेरै विरोध गर्दा सत्ता गुमेको हुनाले विरोध ग-यो भन्ने बात लाग्ने र आफूले सत्ता चलाउन्जेल र खाउन्जेल हुने तर आज अर्को पार्टीले सत्ता चलाउन नहुने भन्ने प्रश्न उठ्ला भन्नेमा दलहरु त्रसित रहेको मेरो अनुमान छ ।
जनताको अधिकार खोस्नु आत्मघाती हो ?
वर्तमान सरकारले विकास र परिवर्तनका नाममा जनताका अधिकार खोस्छन भन्नेमा विश्वस्त नरहेको देखिन्छ । ‘सरकारका मान्छेहरुले अधिकार खोस्ने दुस्साहस गर्लान् भन्ने मलाई लाग्दैन । पार्टीभित्र पनि सुप्रतिष्ठित व्यक्तिहरू छन्। जसले दुनियाँको इतिहास थाहा छ । कसरी फ्रान्समा क्रान्ति भो, जबर्जस्ती गर्दाखेरि कसरी राजतन्त्र विस्थापित मात्रै भएन, राजाहरू काटिए भन्ने पढेका होलान् ।
धेरै देशमा राजा काटिए, राजा मात्रै होइन, राष्ट्रपतिहरू, राष्ट्राध्यक्षहरू नै पनि काटिए। त्यसैले जनभावना विपरित जाँदा परिणाम राम्रो आउँदैन भन्नेमा विश्वस्त होलान् । अहिलेका सुप्रतिष्ठित व्यक्तिहरूलाई अवश्य नै थाहा होला । त्यसैले जनताको अधिकार खोस्ने दिशामा जानेर, नजानेर कदम चाल्यो भने त्यो आत्मघाती कदम हुन्छ ।

सरकारको लागि पट्टक्कै फाइदा हुँदैन । जति सक्यो सम्भव भएसम्म अघिल्ला सरकारहरूले गरेका उदार कामहरुलाई निरन्तरता दिनुपर्छ ।
जनताहरू पहिलेका सरकारहरूसँग सन्तुष्ट थिएनन्। अझ राम्रो परिवर्तन, अझ राम्रो सुधारहरू, अझ सुविधाहरू, सुशासन, भ्रष्टाचारमुक्त अवस्थाको परिकल्पना गर्नुपर्छ । अझ बढी इमानदारी प्रदर्शन गर्ने समय हो यो । आफ्नो प्रतिबद्धतापतिको निष्ठा प्रदर्शन गर्नुपर्ने बेला हो,’ ।
‘तर त्यो गरेनन् भने दुर्भाग्य हुनसक्छ । चाहेको परिवर्तन राजाले त आफ्नो शासन थाम्न सकेनन् । जोसँग सेना, पुलिस थियो । राजा भएन भने त देश बर्बाद हुन्छ, सकिन्छ, मासिन्छ भन्नेहरु थिए । अर्को देशले खान्छ, आधा इन्डियातिर जान्छ, आधा चाइनातिर जान्छ भन्ने हौवा फिँजाएर शासन गर्दा समेत टिक्न सकेन राजतन्त्र । त्यसैले यो सरकारपनि संयमित होला भन्ने लागेको छ ।’
सत्तामा हुनेले जे पनि गर्न खोज्दा वा लोकतन्त्रमा अधिनायकवादी हिसाबले हिँड्न खोज्दा समस्या उत्पन्न हुने गरेको छ। ‘संविधानले नदिएको संसद् विघटन गरिदिने, बीच–बीचमा चुनाव गराउन खोज्ने, विरोधीहरू वा प्रतिपक्षको कुरा पट्टक्कै नसुन्ने, मिडियामा लेख कसैले केही लेख्यो भनेदेखि मिडियाकै मनोबल गिराउन तेजोवध गर्न खोज्ने काम यसअघिका सरकारहरूले पनि गरेका थिए ।
लगभग सबै सरकारले गरे । तर सफल भएनन् नि । त्यो बाटो गलत रहेछ भन्ने कुरा सबै सरकारले गरे र अहिलेको सरकारले पनि ख्याल गर्नुपर्छ,’ ।
सरकार र मिडियाविचको द्वन्द्वबारे तपाईको भनाई ?
सरकार र मिडियाविचको द्वन्द्व पुरानो भएको औंल्याउँदै विरहीले सरकार र मिडियाबीचको द्वन्द्व प्रायः भइरहने हो । ‘मिडियाको काम सरकारको आलोचना गर्ने, जनतालाई सुसुचित गर्ने हो ।
सरकारको काम गल्ती लुकाउने र आफ्नो कुरा सरकारी मिडिया, आफूले नै पालिरहेका मिडियामार्फत पठाउने हो । लोकतान्त्रिक देशमा त सरकारले प्रिन्ट मिडिया प्रायः चलाउँदैन ।
तर सरकारी मिडिया बलियो पार्ने काममा सरकार लाग्ने गर्छ । कुनै सरकारी निकायले निजी मिडियालाई विज्ञापन वा केही सहयोग गर्नुपर्दैन ।
असहयोग गर्ने नीति अपनाउने भनेको प्रेस विरोधी नीति हो । निजी र स्वतन्त्र प्रेस विरोधी नीति हो । स्वतन्त्र प्रेस विरोधी नीति भनेको जनताको आवाज मुखरित हुन नसकोस् भन्ने मानसिकताको अभिव्यक्ति हो । त्यसैले त्यस्तो कुरा रहर इच्छा होला तर त्यो टिक्ने कुरा होइन,’ ।
बीपी नेता मात्र थिएनन् नी ?
हो बीपी नेता मात्र थिएनन् । बीपी कोइराला एउटा राजनीतिक नेतामात्रै नभइ हरेक क्षेत्रमालाई अग्रगामी दिशाले अगाडि बढाउने प्रगतिशील कार्यक्रमहरू अगाडि ल्याउनसक्ने सपना बोकेका व्यक्ति थिए ।
उहाँले देख्नु भएको सपना भनेको राष्ट्र बलियो होस्, जनतामा आर्थिक समानता लागु होस् भन्नेपनि थियो । जनताभन्दा ठूलो कुनै शक्ति छैन भन्ने मान्यता स्थापित होस् र त्यसलाई जनताले महसुस पनि गरून् भन्नेमा हुनुहुन्थ्यो । जनताले भोट हाल्ने अधिकार मात्रै होइन, ठीक व्यक्तिलाई छानेर नै वातावरण पनि निर्माण हुन सकोस्, त्यो चेतना पनि जागृत होस् भन्ने बीपीले पटक–पटक धेरै ठाउँमा भन्नुभएको छ ।
र बीपीको दर्शन वा राजनीतिक दर्शनको मूलचुरो नै जनताको सर्वोच्चता र नागरिकको वैयक्तिक स्वतन्त्रता अर्थात उच्चतम वैयक्तिक स्वतन्त्रता थियो । उहाँ आफ्नो प्रतिबद्धताप्रति नैतिक अढान राख्नुहुन्थ्यो । इमानदारिता त छँदै थियो, त्यसबाहेक घुसको कुरा कल्पनाभन्दा बाहिरको थियो,’ बीपीको स्मरण गर्दै सबैले गर्नुपर्छ ।

‘त्यतिमात्रै होइन, आफू गृहमन्त्री हुँदाखेरि पुलिसको गोलीले एउटा विद्यार्थीको मृत्यु हुँदा मन्त्री पदबाट राजीनामा दिनुभयो । आफ्ना दाजु मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेलामा पार्टीको नीतिअनुसार काम गर्नुभएन भनेर प्रधानमन्त्री पदबाट राजीनामा दिन निर्देशन दिनुभयो ।
पार्टीको नीति र निर्णय अवज्ञा गर्ने प्रधानमन्त्रीलाई पार्टीबाट निष्कासित गर्ने भनेर आफ्नै दाजुलाई निष्कासित गर्नुभयो । तर त्यसको मूल्य पनि चुकाउनुपर्यो, दाजुभाई बीचको झगडा भन्ने बात पनि लाग्यो, पार्टीभित्र द्वन्द्व पनि भयो । मातृकाप्रसादले अर्को पार्टी खोल्नुभयो, । पछि फेरि मिल्न आउनुभयो । बीपीमा त्यो खालको निष्ठा थियो ।’
सोचाई र चाहना ?
बीपीको सोचाइ र चाहना अनुसारका धेरै राजनीतिक परिवर्तनहरू भएका छन् । आर्थिक, सामाजिक क्षेत्रमा सुधारहरू पनि भएका छन्। जननिर्वाचित संविधानसभाबाट संविधान बनोस् भन्ने चाहना पनि पूरा भएको छ । जनता नै सर्वोच्च शक्ति हो भन्ने मान्यता पनि स्थापित भएको छ ।
‘समाजवादउन्मुख राज्य निर्माण होस् भन्ने चाहना उहाँको थियो । त्यसलाई नेपाली कांग्रेसले त अङ्गीकार गरेकै छ । अरू पार्टीले पनि बीपीले भनेभन्दा भिन्न प्रगतिशील, उदार नीति प्रस्तुत गर्न सकेका छैनन् । त्यसैले बीपीको बाटो पछिसम्म देशको लागि उपयोगी हुनेछ ।
सबैले अनुशरण गर्न आवश्यक छ । तर दुःख र चिन्ताको कुरा के छ भने पार्टीहरुले बीपीको विचार त अनुसरण गरे तर उनको आदर्शलाई चाहिँ छाडिदिए । आदर्श चाहिं दुर्घटनामा पर्यो ।’
नैतिक मूल्य–मान्यताहरू आफ्नो प्रतिबद्धता पूरा गर्ने, पार्टीले गरेका निर्णयहरू इमानदारिताका साथ लागु गर्ने, विरोधीहरूको पनि कुरा सुन्ने, विरोधीहरूलाई पनि साथमा लिएर हिँड्ने, सहमत गराउने, आलोचना सुन्ने प्रवृत्ति हालका नेताहरुमा नदेखिएको हो।

नेपाली कांग्रेसकै नेताहरूमा पनि बीपीको विचारलाई अगाडि बढाउने जिम्मेवारी पूरा गर्न नसकेको, राष्ट्रियता, लोकतन्त्र, समाजवादलाई जपिमात्र राख्ने कार्यान्वयन नगर्ने परिपाटी बसेको गुनासो छ ।
‘कांग्रेसका नेताहरुले राष्ट्रियता, लोकतन्त्र, समाजवाद तीनवटा मन्त्र जपिराखे तर त्यसको आडमा गर्नु हुने नहुने अनुचित, अवान्छनित, गैरसंवैधानिक अनेकौँ कर्तुतहरु गर्दै गए । जसले गर्दा मानिसमा वितृष्णा सिर्जना भयो,’ उनले प्रश्न गर्दै भने,‘यही हो त लोकतन्त्र, बीपीले चाहेको यस्तै पद्धति थियो त ?
यस्ता प्रश्नहरु जनताले पनि गरिरहेका छन् । हुनत बीपीलाई असफल पार्न खोज्ने, आफूलाई दूरदर्शी भन्ने मानिसहरू पनि थिए । पार्टीहरू पनि थिए । कांग्रेस भनेको त अराष्ट्रवादी तत्त्व हो भन्नेहरू थिए ।
बीपी भारतमुखी मान्छे हो भन्नेहरू पनि थिए । तर सबैले बुझे, त्यो आरोप गलत रहेछ । उहाँले परिकल्पना गरेको राष्ट्रियता र राष्ट्रवाद माथि शङ्का छैन ।
लोकतन्त्रप्रति, जनताप्रतिको आस्था माथिको कसैलाई पनि शङ्का भएन । उहाँको उत्कृष्ट कार्यक्रम भन्दा आधुनिक, प्रगतिशील कार्यक्रमहरू कुनै कम्युनिस्टहरूले पनि ल्याउन सकेका छैनन् । तरपनि जनतामा असन्तोष छ । नेपाली कांग्रेसप्रति असन्तोष छ ।
यो परिवर्तन ल्याउनेहरूप्रति पनि असन्तोष छ । किनभने परिवर्तनलाई आफ्नो स्वार्थको लागि प्रयोग गरियो । केही उपलब्धि नभएको त होइन नि । उपलब्धिहरूलाई ओझेल पारियो । राम्रा पक्षहरू जनताबीच पु-याइएन ।’
तर आगामी दिनमा गल्तीहरुबाट पाठ सिकेर बीपी कोइरालाको मार्ग दर्शन पच्छ्यायो भनेदेखि सबैको कल्याण हुने विश्वास व्यक्त गर्न चाहान्छु ।
