समुदायकै पहलमा प्रहरी चौकी पुनःस्थापना

  • Clock icon
    २०८२ भाद्र २७, शुक्रबार

जेनजी आन्दोलनको क्रममा तोडफोड, आगजनी र लुटपाटबाट विध्वंस भएका प्रहरी चौकीहरूको पुनर्निर्माण र पुनःस्थापनामा स्थानीय समुदाय आफैं अग्रसर भएको छ।

ललितपुरमा बिहीबार स्थानीयबासीले क्षतविक्षत प्रहरी चौकी पुनःस्थापना गर्दै दरबन्दी प्रहरीहरूलाई स्वागत गरेपछि देशभर यस्तै पहलको लहर सुरु भएको छ। काठमाडौँका टोल–टोलमा रहेको क्षतिग्रस्त चौकीको पुनर्निर्माणमा स्थानीय सरकार, टोल विकास समिति र सर्वसाधारणको सक्रियता देखिएको छ।

आन्दोलनकारीले प्रहरी जवानको पोशाकदेखि सञ्चार उपकरण, कम्प्युटर, मुद्दासम्बन्धी फाइल, प्रमाण तथा जफत गरिएका सामग्रीहरू जलाई नष्ट गरेका थिए। केही चौकीमा हतियार र पोशाक समेत लुटिएका छन्। झ्यालढोका, काठका संरचना, पर्खाल र तारबारसमेत भत्काइएका छन् भने भित्ताका रङ आगोले कालो भएका छन्।

यस्तो अवस्थामा आवश्यक फर्निचर, सञ्चार उपकरण, कम्प्युटर र पोशाकको समेत तत्काल व्यवस्थापन गर्नुपर्ने देखिएको छ। स्थानीय तहले आफ्ना विभिन्न शीर्षकको बजेट प्रयोग गर्दै र टोल विकास समितिहरूले चन्दा संकलनमार्फत प्रहरी कार्यालयको पुनर्निर्माणमा सहयोग पुर्‍याइरहेका छन्।

सुरक्षा व्यवस्थालाई सुदृढ पार्न सुरु भएको यो समुदाय–केन्द्रित पुनःस्थापना अभियान देशभर फैलने अपेक्षा गरिएको छ।

  • Clock icon
    २०८२ भाद्र २७, शुक्रबार