चिनियाँ ईभी प्रविधि विश्वमा अटो डिजाइनको नयाँ किर्तिमान

  • Clock icon
    २०८२ भाद्र २७, शुक्रबार

२०२१ मा आउडीका कार्यकारीहरूले पहिलो पटक यूरोपेली शैलीको लामो दूरीको विद्युतीय सवारी साधन जीकर ००१ देख्दा चिनियाँसँग प्रतिस्पर्धा गर्न प्रिमियम जर्मन अटो ब्रान्डलाई उनीहरूको प्रविधि चाहिने चेतावनी पाएका थिए।

“त्यतिबेला जीकर ००१ ले सबैलाई चकित पारेको थियो,” एसएआईसी आउडी सेल्स एण्ड मार्केटिङका अध्यक्ष स्टेफान पोट्जले भने। “हामीले यसको बारेमा केही गर्नैपर्ने भयो।”

चिनियाँ उपभोक्ताका लागि आफ्नो ईभी उत्पादन बढाउन आउडीले चिनियाँ साझेदार एसएआईसीले उपलब्ध गराएको ब्याट्री, विद्युतीय पावरट्रेन, इन्फोटेनमेन्ट सफ्टवेयर र उन्नत ड्राइभिङ सहायक प्रणालीको प्रयोग गर्दै जम्मा १८ महिनामै आउडी ई५ स्पोर्टब्याक तयार गर्‍यो।

रोयटर्सका अनुसार आउडीले ३३,००० डलर मूल्यको यो ईभी यसै महिनादेखि चीनमा ग्राहकलाई दिन सुरु गर्ने अपेक्षा गरेको छ भने अब यसको विश्वव्यापी प्रतिस्पर्धीहरू पनि छिट्टै नयाँ मोडेल ल्याउन चिनियाँ बौद्धिक सम्पत्ति प्रयोग गर्ने तयारीमा छन्। टोयोटा र भोक्सवागनले क्रमशः चिनियाँ साझेदार जीएसी र एक्सपेंगसँग चीन(समर्पित मोडेल संयुक्त रूपमा बनाउन योजना बनाएका छन्।

रेनो र फोर्डले यसभन्दा अगाडि बढेर चिनियाँ ईभी प्लेटफर्ममा आधारित विश्वव्यापी मोडेल बनाउन चाहेको स्रोतहरूले बताएका छन्। रेनोले यसबारे प्रतिक्रिया दिएन भने फोर्डले टिप्पणी गर्न अस्वीकार गर्‍यो।

यस्ता लाइसेन्स सम्झौताले हाललाई सानो भए पनि बढ्दो आम्दानीको स्रोत बनिरहेका छन्। विश्वव्यापी अटोमेकरलाई नयाँ ईभी छिट्टै ल्याउन चिनियाँ प्रविधि आवश्यक परिरहेको छ भने चिनियाँ कम्पनीहरूलाई घरभित्र मूल्य युद्ध र बाहिर व्यापारिक तनावका बीच थप आम्दानी अति आवश्यक परेको छ।

“यो निकै स्मार्ट र दुवै पक्षका लागि फाइदाजनक समाधान हो,” शाङ्हाइस्थित परामर्शदाता कम्पनी अटोडाटासका महाप्रबन्धक विल वाङले भने।

यस नयाँ रणनीति १९९० को दशकको “इन्टेल इन्साइड” अभियानजस्तै देखिन्छ – जहाँ अमेरिकी चिपमेकर इण्टेलले अत्याधुनिक कम्पोनेन्ट प्रयोग गरेर कम्प्युटरलाई प्रिमियम उत्पादनमा रूपान्तरण गरेको थियो।

यस अवस्थामा चिनियाँ अटोमेकरले ईभी प्रविधि प्याकेजका रूपमा बेचिरहेका छन् – जसले सानो बजेट भएका साना उत्पादकहरूलाई पनि सजिलै ब्याट्रीमा चल्ने सवारी बनाउन सक्षम बनाउँछ।

लीपमोटरले स्टेलान्टिससँग मिलेर चीनबाहिर आफ्ना ईभी बेच्ने सम्झौता गरेको छ र अन्य ब्रान्डसँग प्रविधि लाइसेन्स गर्नेबारे छलफल भइरहेको सीईओ झु जियाङमिङले रोयटर्सलाई बताए।

चिनियाँ ईभी चेसिस र सफ्टवेयर तयार अवस्थामा प्रयोग गर्दा परम्परागत अटोमेकरले अर्बौँ डलर र धेरै वर्षको विकास समय बचत गर्न सक्ने तथा चिनियाँ प्रतिस्पर्धीसँग बराबरी गर्न सक्ने उद्योग विशेषज्ञहरूको भनाइ छ। रेनोले पहिले नै २०२१ देखि चीनको डोङफेङ प्लेटफर्म प्रयोग गरेर युरोपमा बेच्न सुरू गरेको सस्तो डासिया स्प्रिङ ईभी ल्याएको थियो।

रेनोले यसलाई अझ अगाडि बढाउँदै शाङ्हाइमा रहेको अनुसन्धान केन्द्रमा नयाँ इलेक्ट्रिक ट्विङ्गो विकास गरिरहेको छ। चिनियाँ ईभी इन्जिनियरिङ कम्पनी लञ्च डिजाइनले यसको ईभी प्लेटफर्म विकासमा प्राविधिक सहयोग दिइरहेको दुई स्रोतहरूले बताएका छन्।
लन्चले यसबारे प्रतिक्रिया दिएको छैन।

अरू “चाइना इन्साइड” मोडेल पनि छिट्टै आउन सक्ने संकेत देखिएको छ। फोर्डले ईभी प्लेटफर्म प्रविधि दिन चिनियाँ साझेदार खोजिरहेको दुई जानकार स्रोतहरूले बताएका छन्। सीईओ जिम फर्लीले बारम्बार चिनियाँ ईभी परीक्षण गर्ने गरेका छन् र हालै शाओमीको एसयू७ इलेक्ट्रिक सेडानको प्रशंसा गरेका थिए।

भोक्सवागनले एक्सपेङसङ्ग संयुक्त रूपमा विकास गरिएका प्लेटफर्म प्रयोग गर्दै इलेक्ट्रोनिक्स र सफ्टवेयरको डिजाइनमा एक्सपेङको लेआउट अपनाई चीन(समर्पित सबै प्रकारका इन्धन मोडेल विकास गर्ने योजना विस्तार गरेको छ।

विश्लेषकहरूको भनाइमा परम्परागत अटोमेकरहरू प्रायः जटिल संगठनात्मक संरचनाका कारण छिट्टै अपडेट गर्न सक्ने फुर्तिलो ईभी प्रणाली बनाउन संघर्ष गर्छन्।

  • Clock icon
    २०८२ भाद्र २७, शुक्रबार