काठमाडौँ महानगरपालिकाका विद्यालयहरू आइतबारदेखि नियमित पठनपाठनका लागि खुलेका छन्। महानगरपालिकाले शिक्षक र व्यवस्थापनलाई आवश्यक तयारी पूरा गर्न आग्रह गरेपछि आजदेखि कक्षाहरू सञ्चालनमा आएका हुन्।
महानगरले जारी सूचना अनुसार विद्यालयमा कुनै क्षति भएको छैन भन्ने यकिन गर्न, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न र अवस्था सामान्य नहुन्जेलसम्म बालबालिकालाई विद्यालयमा ल्याउने–लजाने व्यवस्था गर्न अनुरोध गरेको छ।
महानगरको शिक्षा विभागले चार बुँदामा सबै विद्यालयलाई सूचना जारी गर्दै कक्षा सञ्चालन, भदौ २३ र २४ गते देशमा सिर्जित अवस्थाबाट विद्यालयमा कुनै क्षति भएको छैन भन्ने सुनिश्चित गर्न र कक्षा सञ्चालनका लागि आवश्यक तयारी गर्न निर्देशन दिएको हो।
महानगरले भदौ ३० देखि मनोसामाजिक परामर्शसहित भौतिक रूपमा कक्षा सञ्चालन गर्न, विद्यालयमा आउन नसक्ने विद्यार्थीका लागि श्रव्यदृश्य माध्यममार्फत कक्षा सञ्चालन गर्न पनि आग्रह गरेको छ।