आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भएको खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको छ।
नेपालले प्रस्तुत गरेको १५८ रनको सामान्य लक्ष्य नामिबियाले ३७.४ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालको प्रदर्शन निकै निराशाजनक रह्यो। नेपालले ४६।५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन मात्र जोड्न सक्यो।
नेपालका लागि कप्तान रोहित पौडेलले ६० बलमा ३१ रन र दीपेन्द्र सिंह ऐरीले ५१ बलमा ३० रन बनाए। यस्तै, गुलशन झाले २० र करण केसीले १८ रनको योगदान दिए।
ओपनर कुशल भुर्तेल २ रनमै आउट भएपछि दबाबमा परेको नेपालका कुनै पनि ब्याटरले ठूलो इनिङ खेल्न सकेनन्।
नेपाललाई सस्तैमा समेट्न नामिबियाका जेजे स्मितले घातक बलिङ गरे। उनले ९.५ ओभरमा १ मेडन राख्दै मात्र २७ रन खर्चेर ६ विकेट लिए।
स्मिटकै उत्कृष्ट प्रदर्शनका कारण नेपालको ब्याटिङ धरासायी बनेको थियो। यस्तै, ज्याक ब्रासेल र बर्नार्ड स्कोल्जले समान २–२ विकेट लिए।
१५८ रनको लक्ष्य पछ्याएको नामिबियाले सहज जित निकाल्यो। नामिबियाका लागि जान फ्राइलिंकले अविजित ७८ रनको अर्धशतकीय इनिङ खेले। ८९ बल सामना गरेका उनले ८ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर माइकल भ्यान लिङ्गेनले ५१ रन बनाए। जान निकोल लोफ्टी–इटन १७ रनमा अविजित रहे।
बलिङतर्फ नेपालका लागि नन्दन यादव र कप्तान रोहित पौडेलले १–१ विकेट लिए। अन्य मुख्य बलरहरू सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने विकेटविहीन रहे।
खेलको प्लेयर अफ द म्याचु ६ विकेट लिएका नामिबियाका जेजे स्मिट घोषित भए। यस हारसँगै नेपालले लिग–२ को अंक तालिकामा महत्वपूर्ण अंक गुमाएको छ।
