झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओमा आवेदन दिन आज अन्तिम मौका रहेको छ। कम्पनीले प्रारम्भमा भदौ २४ गते निष्कासन बन्द गर्ने घोषणा गरेको थियो, तर विषम परिस्थितिका कारण अवधि एक दिन थप गरिएको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिले नै प्राथमिक चरणमा आईपीओ बाँडफाँट गरिसकेको छ। पहिलो चरणमा स्थानीय बासिन्दाका लागि ३ लाख ८० हजार १९० कित्ता र वैदेशिक श्रमिकहरूका लागि ५७ हजार २९ कित्ता शेयर निष्कासन गरिएको थियो।
अहिले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गरिएको छ। यस चरणमा सामूहिक लगानी कोषहरूलाई २८ हजार ५१४ कित्ता र कम्पनीका कर्मचारीहरूलाई ११ हजार ४०६ कित्ता शेयर छुट्याइएका छन्। बाँकी ४ लाख ७३ हजार ३३६ कित्ता साधारण शेयर सर्वसाधारणका लागि उपलब्ध गराइएको छ।
प्रतिकित्ता मूल्य १०० रुपैयाँ तोकिएको छ, जसअनुसार कुल मूल्य ४ करोड ७३ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको शेयर निष्कासन भएको छ। आवेदन कम्तीमा १० कित्ता र बढीमा ५ हजार कित्तासम्म गर्न सकिनेछ।