जेन–जेडपछि सेयर बजार खोल्ने निर्णयमा अन्यौल

जेन–जेड आन्दोलनपछि जनजीवन सामान्य भए पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) खोल्ने कि नखोल्ने भन्ने विषयमा अन्यौल कायमै रहेको छ। गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण नेप्सेले भदौ २९ देखि असोज २ गतेसम्म बजार बन्द गर्ने निर्णय गरेको थियो। तर अहिले स्थिति सुधार भएको देखिएपछि लगानीकर्ताहरूले बजार खोल्ने विषयमा चासो बढाएका छन्।

लगानीकर्ताहरूको प्रमुख चासो भनेको सेयर बजारको भविष्यबारे स्पष्ट निर्णय छिट्टै लिइनु पर्ने हो। यद्यपि, प्रदर्शनपछि स्थिति सामान्य भए पनि बजार खोल्ने विषयमा नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेप्सेबीबीच अझै छलफल जारी रहेको छ।

बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले भने, “प्राविधिक रूपमा कारोबार खोल्न कुनै समस्या छैन, तर बजार अनुकूल कस्तो हुने भन्ने कुरालाई हेरेर निर्णय लिइनेछ। बजार खोल्ने कि नखोल्ने विषय भोलिसम्म निश्चित हुनेछ।”

उनका अनुसार, भदौ २९ गते आइतबार पनि बोर्ड र नेप्सेबीच छलफल भएको थियो। छलफलमा कारोबार खोल्न प्राविधिक कुनै समस्या नभएको जनाइएको थियो। तर बजारको अनुकूलता हेरेर मात्रै निर्णय लिइने श्रेष्ठले जानकारी दिए।