के सगरमाथा संवादले हिमाल जोगाऊला ?

हिमाललाई ढाक्यो कान्छा‘हो‘हो‘हो‘
हो‘हिमाललाई ढाक्यो कान्छा‘हो
हिउँको पछ्यौरीले‘
पिरतीको भाका बोल्छ‘
फूल मन्जरीले‘
फूल मन्जरीले‘ए‘
फूल मन्जरीले‘

जुनु रिजाल काफ्लेको स्वरमा सजिएको यो गीत नेपालीको मनमुटुमा बस्न सफल छ । तर यही गीतले बोलेको भावजस्तै हिमाललाई हिउँको पछ्यौरीले नडाँक्ने पो हो क? हिमाल सेतै हुन्छ रे भन्ने कुरा हामी भावी पुस्ताले इतिहास मात्रै पढ्न पाउने हुन् कि उस्तै चिन्ता र चासो बढेको छ ।

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्
यी हातले सधैँसधैँ नेपाल लेख्न पाइयोस् ।

रामकृष्ण ढकालको स्वरमा गुञ्जिने यो गीत पनि नेपालीको जनजीब्रोमा झुन्डिएको छ । गुञ्जिरहनेछ सदाबहार रूपमा । गीतले भनेकोजस्तै हिमाल देख्न नपाइने हो कि भन्ने डर पनि उत्तिकै छ ।

विश्वव्यापी रूपमा बढिरहेको जलवायु परिवर्तनको असरले हाम्रा यी सेता हिमालहरू कतै कालापत्थरमा त परिणत हुने होइन रु यी र यस्ता प्रश्नहरूले गीतले भनेजस्तै बिहान उठेर हिमाल हेर्न सधैँ नपाइएला कि भन्ने चिन्ता पनि छ ।

हिमालकै कारण नेपाली भूभाग साँच्चै प्रकृतिको बेजोड सङ्गम भएको हो । यहाँका हिमालदेखि तालतलैयाले लगाएको मोहनीले नेपाल पर्यापर्यटकमा विश्वका जनताको आकर्षणको केन्द्र बन्न सफल भएको छ । त्यसैले हिमालको अस्तित्व बचाउनु हामी सबैको कर्तव्य हो ।

जलवायु परिवर्तनको असरले यी आकर्षणमा कमी मात्र होइन समाप्त नै हुन्छ भने डर पनि छ । हिमाल बिनाको नेपाल कस्तो देखिएला नेपाल ? हिमालको महत्त्व अपार भएर नै होला कवि तथा गीतकारहरूले हिमालको महिमा गाएका थिए, रचना रहेका थिए । ती रचना कतै इतिहास त हुने होइन भन्ने चिन्ता यतिबेला सर्वत्र छ ।

पर्यटन व्यवसायी समेत रहेका आङछिरिङ शेर्पालाई कतै हिमालमा हिउँ रित्तिएर पर्यटकहरू नै नेपाल नआउने र पर्यटन व्यवसाय धरापमा पर्ने हो कि उस्तै चिन्ता छ । उमेरले ७० नाघिसकेका शेर्पालाई लामो समय हिमालकै काखमा हुर्केर खेलेकाले पनि होला पहिला र अहिलेको हिमालबारे जानकार हुनुहुन्छ उहाँ । “हामी सानो छँदा त हिमाल सबै सेता हिउँले ठाकिएको हुन्थ्यो । चमक्क चम्किन्थे । हेर्दाहेर्दै हिमालमा हिउँ पातलियो । कालापत्थरहरू देखिन थाले”, उहाँ भन्नुहुन्छ, “यस्तै हो भने त अबको २० वर्षमै हिमालको अस्थित्व मिटिन्छ कि भन्ने चिन्ता लाग्छ । अनि हिमाल हेर्न भनेर पर्यटक आउन छाड्लान् हाम्रो व्यवसाय पनि धरापमा पर्नेछ ।”
अहिले नेपालमा सगरमाथा संवाद चलिरहेको छ । दुई दिने संवादको अन्तिम दिन हिमालका विषयमा बहस भइरहेको छ । यो बहसले हिमालका लागि सकारात्मक कदम चाल्ला ? प्रश्न चिन्ह खडा छ ।

हिमालमा कस्तो असर पर्ला ?

हिमालमा जलवायुले पारेका असरका कारण हिमालको अस्तित्व सकिने, पानीको स्रोतहरू सुक्ने, हिमताल फुट्ने, हिमपहिरो जाने, पर्यटक घट्ने, बसाई सर्नुपर्ने अवस्था आएर त्यहाँका संस्कृति लोभ हुनेलगायत असर देखिने बताउँछन् पर्वतीय क्षेत्रका मुद्दामा पैरवी गर्दै आउनुभएकी जलवायु अभियन्ता गीता पाण्डे । पर्वतीय क्षेत्रमा जलवायुले पारको असर न्यूनीकरण तथा अनुकूलनका लागि निरन्तर पैरवी आवश्यक रहेको उनको सुझाव छ ।

जलवायु परिवर्तनसम्बन्धि २१ औँ विश्व सम्मेलन फ्रान्सको पेरिसमा सम्पन्न भएको थियो । पेरिस सम्झौताबमोजिम तापक्रमका वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसमा कायम भए तापनि यस एक्काइसौँ शताब्दीका अन्त्यसम्ममा हिमालय क्षेत्रका ३६ प्रतिशत हिमताल पग्लन प्रक्षेपण गरिएका छ ।

पैरवीमा जोडबल निरन्तर

गत वर्ष बाकुमा सम्पन्न ‘विश्व जलवायु सम्मेलन’ ९कोप २९० मा भाग लिन पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले जलवायुजन्य सङ्कटबाट हिमाल जोगाउनुपर्ने भन्दै विश्व समुदायको ध्यान आकर्षण गराएका थिए ।

सन् २०२३ मा युएईको दुबईमा सम्पन्न भएको २८ औँ कोपमा पनि नेपालको नेतृत्व गर्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित भएका थिए । “म यहाँ ३० मिलियन नेपालीको सन्देश बोकेर आएको छु”, प्रधानमन्त्री दाहालले सम्बोधनको सुरूमै भनेका थिए, “तापक्रम वृद्धिले हिमालय क्षेत्रलाई आक्रात पारिरहेको छ, हाम्रो हिमाल बचाउने सन्देश पनि लिएर आएको हुँ ।”

यस बेलामा पनि पर्वतीय क्षेत्रको मुद्दाले विश्व समुदायमा चर्चामा ल्यायो । कोपमा पहिलोपटक हिमालको मुद्दा छलफलमा समाहित गरियो । यसअघि नेपालले जोडदार रूपमा हिमालको मुद्दा कोपमा समाहित गराउन जोडबल गर्दै आइरहेको थियो ।

यसो त दुई वर्षअघि संयुक्त राष्ट्रसघङ्का महासचिव एन्टिनिओ गुटेरेश चार दिने नेपाल भ्रमणमा आएका थिए । महासचिव गुटेरेसले भ्रमणमा रहेको बेलामा हिमालयबाट बगेका नदीहरूले एक अर्बभन्दा बढी मानिसलाई स्वच्छ पानी प्रदान गरिरहेको भन्दै हिमालको प्रशंसा गरे । यस्ता हिमनदी पग्लिएमा पानीको स्रोत समेत सङ्कटमा पर्न सक्ने भन्दै उनले दिएको अभिव्याक्तिले पनि यो वर्ष मुख्य चर्चा पायो । यसले पनि कोपमा पर्वतीय क्षेत्रका मुद्दामा पैरवी गर्न नेपाललाई सहज भयो ।

मासचिव गुटेरेसले २८ औँ कोप सम्मेलन सुरू हुनुअघि नेपालको भ्रमण गर्नुभएर पनि होला नेपाललाई बढी सम्झाएका थिए । नेपालको भ्रमणको क्रममा सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रलाई नजिकबाट साक्षत्कार गर्ने मौका पाएर पनि होला उनले हिमालमा परेको जलवायु परिवर्तनको असर पनि नकिजबाटै नियाले । ती अनुभवहरू विश्व सामुदायको अगाडि अभिव्यक्त गरे । हिमालमा जलवायु परिवर्तनको असर यसले हिमाली क्षेत्रको जनजीवनमा पारेको प्रभावलाई बताइदिएर विश्वको नै ध्यान ताने । गुटेरेसको सम्बोधनले झन्डै १९२ देशका सहभागीहरूको ध्यान खिच्यो ।

सन् २००९ मा डेनमार्कको कोपनहेगनमा सम्मन्न भएको १५ औँ कोपमा भाग लिन पनि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेपाली प्रतिनिधि टोली सहभागी भएका थियो । त्यस बेलादेखि नै नेपालले हिमालको मुद्दालाई प्राथमिकता दिएर मुख्य एजेन्डास्वरूप कोपमा लिएर जाने गरेको थियो ।

जलवायु परिवर्तनको असरहरूको कारणले पर्वतीय क्षेत्रहरूको पारिस्थितिकिय प्रणाली, जनजीवन र जैविक विविधतामा परिरहेको नकरात्मक असरका बारेमा नेपालले सन् २००९ देखि नै जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनलगायत अन्तरराष्ट्रिय मञ्चहरूमा नेपालले निरन्तर आवाज उठाउँदै आइरहेको छ । पैरवीलाई निरन्तरता दिँदै यतिबेला काठमाडौँमा सगरमाथा संवादको आयोजना भइरहेको हो ।