इन्डियन प्रिमियर लिग (आइपिएल) १० दिनपछि आज पुनः सुरु हुँदैछ।
भारत र पाकिस्तानबीच चुलिएको तनावका कारण आइपिएल स्थगित भएको थियो। अहिले तनाव कम भइसकेको छ । दुवै देशले युद्धविरामको घोषणा गरेका छन् । आइपिएलको चर्चा विस्तारै पुनः सुरु भएको छ ।
विदेशी खेलाडीहरु आआफ्नो देश फर्किए पनि, यात्रा तालिका अचानक फेरिनु, उडान रद्द हुनु र कडा सुरक्षा व्यवस्थाबीच पनि आइपिएल पुनः सुरु गर्न आयोजकको प्रयास सफल भएको छ।
रोयल च्यालेन्जर्स बेंगलुरु (आसिबी) र कोलकाता नाइट राइडर्सले आज नेपाली समयअनुसार साँझ ७:४५ बजे एकअर्काको सामना गर्दैछन्।
दुई टोली एक मात्र पूर्ण अभ्यास सत्र र त्यसपछिको आधा सत्रपछि मैदानमा उत्रिन बाध्य भएका छन्।
एम चिन्नास्वामी रंगशालामा केहि दिनयता चहलपहल सुरु भएको छ।
यसपटक उत्साहको केन्द्रमा टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका विराट कोहली रहनेछन्। सन्न्यास घोषणापछि यो उनको पहिलो खेल हो।
अन्तिम तीन दिनको मौसमलाई ध्यानमा राख्दै आरसिबीले दिउँसो अभ्यास गरेको थियो । कोलकाताले साँझमा प्रशिक्षण गरेको थियो। देवदत्त पडिक्कल घाइते भएपछि अन्तिम समयमा बोलाइएका मयंक अग्रवाललाई लामो अभ्यास समय दिइएको थियो।
आरसिबी सन् २०१६ पछि शीर्ष दुईमा परेका छैन । त्यति बेला टोली दोस्रो भएको थियो। यो सिजन ८ जितसहित दोस्रो स्थानमा छ । अब दुई जितले टोली प्ले अफ पुग्ने सम्भावना छ।
तर कोलकाताका लागि बाटो अझै कठिन छ। कोलकाताले लगातार दुई जित हासिल गर्नुका साथै अन्य खेलको परिणाम पनि आफ्ना पक्षमा पर्नुपर्ने स्थिति छ। जसबाट अप्रत्याशित नेट रनरेट समीकरणका आधारमा चौथो स्थानमा प्लेअफ पुग्ने आशा कायम रहन सक्छ ।