मौसम अनुकूल भएसँगै आइतबार एकै दिन १३५ आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। वसन्त यामको जारी आरोहणमा एकै दिन धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएको पर्यटन विभागले जनाएको छ ।
सगरमाथाको आधार शिविरस्थित विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार मौसम अनुकूल भएकाले आज धेरै आरोहीले सगरमाथा चढेका हुन्। सोमबार पनि धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनामा रहेको जनाइएको छ।
विभागका अनुसार मे १८काा दिन ‘म्याक्सिमम समिट प्लान थियो । त्यसैले धेरै सङ्ख्यामा आरोहीले सगरमाथा आरोहण गरेका छन् । सगरमाथा आरोहणको सुरुका केही दिन आरोहण अवरुद्ध भए पनि तीन दिनयता सर्वाधिक आरोहण भइरहेका छन्।
हालसम्म २०० भन्दा बढीले सगरमाथा आरोहण गरेको र आज सोमबार पनि धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनाका साथ गन्तव्यमा रहेको छ ।
फोटो पत्रकारसमेत रहेकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठले पाँचौँ पटक सगरमाथा आरोहण गर्नुभएको छ। श्रेष्ठले आइतबार सगरमाथाको चुचुरोमा पाँचौँ पटक पुगेको सतोरी एडभेन्चर प्रालिले जनाएको छ । श्रेष्ठले गत वर्ष एउटै याममा तीन पटक सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको थियो ।