अब आफू अध्यक्ष नहुने प्रचण्डको धारणा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरणका लागि तयार रहेको बताएका छन् । सधैंभरि अध्यक्ष भइराख्नुपर्छ भन्ने पक्षमा आफू नरहेको उनले बताए ।

बिहीबार काठमाडौंमा शुरू केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नेतृत्व छाड्न तयार रहेको बताएका हुन् । जेनजी आन्दोलनपछि शीर्ष नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला माओवादीले केन्द्रीय कमिटी भंग गरेर त्यसको शुरूआत गरेको उनले बताए ।

‘म शुरूमै कमरेडहरूलाई भन्न चाहन्छु, मलाई अध्यक्ष भइराख्नुपर्छ, म चाहिँ छोड्न हुँदैन भन्ने मेरो छैन । तर, कतिपय साथीहरूलाई त्यस्तो लाग्नैगर्छ फेरि’, अध्यक्ष प्रचण्डले भने, ‘यसले अनेक गरेर आफैंले नछोड्ने वातावरण बनाउन लाको त होइन भन्ने भएको पनि म सुन्छु । त्यसो होइन ।’

आफूले विधिसम्मत नेतृत्व परिवर्तनको कुरा गर्दै आएको र विशेष महाधिवेशनपछि आफू अध्यक्ष नबन्ने प्रचण्डले संकेत गरे ।

‘बाहिर जेनजी आन्दोलनले पैदा गरेको मानसिकता लिडरशिपको बारेमा जे छ त्यसलाई पनि सम्बोधन गर्ने उद्देश्यले नै केन्द्रीय समिति विघटन गर्ने र अध्यक्ष, पदाधिकारी सबै पद अहिलेलाई मुल्तबीमा राख्ने अथवा स्थगित गर्ने आयोजक समितिमा जाने भनिएको हो’, प्रचण्डले भने, ‘यसले कम्तीमा पनि माओवादी जसले जेन-जी आन्दोलनको शुरूआतदेखि नै त्यसका मागहरूलाई समर्थन गर्‍यो । उसको भावनलाई सम्बोधन गरेको ठहर्छ ।’

प्रचण्डले आफू जिम्मेवारीबाट भाग्ने पक्षमा भने नरहेको समेत बताए । ‘अन्तिम समयसम्म पनि म लडिराख्नुपर्छ भन्ने संकल्प मभित्र छ । त्यसो भनिरहँदा अर्को कुरा पनि, सायद कमरेडहरूले विगतदेखि पनि मेरो भनाइ सुनिराख्नुभएको छ । मलाई अब पदमा बसिराख्नुपर्छ भन्ने मलाई लाग्दैन’, उनले भने ।