कोजाग्रत पूर्णिमामा लक्ष्मी पूजासँग दशैंको समापन

नेपालीहरूको महान् चाड दुर्गा पक्ष अर्थात् बडादसैं आज धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा–आराधनासहित विधिवत् रूपमा समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा लाई लक्ष्मी पूजाका रूपमा विशेष महत्वका साथ मनाइन्छ। यस दिन दशैंलाई विदा गरी देवी लक्ष्मीको स्वागतका साथ घर–घरमा पूजा–आराधना गरिन्छ।

धार्मिक विश्वास अनुसार, आज रातभर जाग्राम बसेर देवी महालक्ष्मीको आराधना गर्ने घरमा धन, ऐश्वर्य र सम्पन्नताको वर्षा हुने विश्वास छ। कथन छ कि आजको रात पृथ्वी भ्रमणमा निस्केकी देवी लक्ष्मी जाग्राम गरी पूजा गर्ने भक्तजनको घरमा प्रवेश गरी सम्पन्नता प्रदान गर्छिन्।

विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम पनि आजै समाप्त हुन्छ। यसका साथमा दशैंघरमा राखिएका फूल, प्रसाद र जमराका अवशेष बिहानै नजिकको नदी, पोखरी वा तीर्थस्थलमा विसर्जन गर्ने परम्परा रहिआएको छ।

देशभरका मठ–मन्दिरमा आज लक्ष्मी पूजाको विशेष रौनक छ भने घर–घरमा उज्यालो बाल्दै रातभर जाग्राम बस्ने धार्मिक चलनले दशैंको समापनलाई श्रद्धा र उत्साहका साथ मनाइँदैछ।