‘प्रतिवेदन कागजमा नरोकिने’ — स्टक ब्रोकर संघको सरकारलाई आग्रह

  • Clock icon
    २०८२ आश्विन २३, बिहीबार

स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान) ले पुँजी बजार सुधार कार्यदल द्वारा बुझाइएको प्रतिवेदनको स्वागत गर्दै तत्काल कार्यान्वयनमा लैजान सरकारलाई जोडदार माग गरेको छ।

अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा धितोपत्र बोर्डका कार्यवाहक कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित कार्यदलले हालै पुँजी बजार सुधारका लागि प्रतिवेदन बुझाएको थियो।
सो प्रतिवेदन बुझाएसँगै अर्थमन्त्री खनालले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगायत निकायहरूलाई सुधारका सिफारिस कार्यान्वयनका लागि निर्देशन दिएका छन्।

यही निर्देशनपछि एसबानले पनि औपचारिक वक्तव्य जारी गर्दै “पुँजी बजारको दिगो सुधारका लागि सुझाब कार्यदलको प्रतिवेदनलाई तुरुन्तै व्यवहारमा उतारिनुपर्छ” भन्ने माग अघि सारेको हो।

एसबानका अध्यक्ष सागर ढकालका अनुसार अर्थमन्त्री खनालले पुँजी बजार सुधारप्रति देखाएको सक्रियता नेपालकै पूँजी बजार विकासको इतिहासमा ‘कोसेढुंगा’ सावित हुनेछ।
उनले भने, “कार्यदलको प्रतिवेदनले अहिलेको अवस्थालाई सम्बोधन गर्दै शेयर धितो कर्जाको लिमिट हटाउने, बैंक तथा वित्तीय संस्थामाथिको सेयर कारोबार प्रतिबन्ध हटाउने, नयाँ वित्तीय औजार भित्र्याउने र नेप्सेको पुनःसंरचना तथा निजीकरणको सिफारिस गरेको छ — यी सबै अत्यन्त व्यावहारिक र आवश्यक सुधार हुन्।”

ढकालले अघिल्ला सरकारहरूका कार्यदलहरूले प्रतिवेदन बुझाए पनि कार्यान्वयनमा नआउने प्रवृत्तिलाई “मुख्य समस्या” बताउँदै यसपटक भने प्रतिवेदन कागजमै सीमित नहुने विश्वास व्यक्त गरे।

उनले थपे, “अर्थमन्त्रीले जसरी अग्रसरता देखाउनुभएको छ, त्यसै गति र प्रतिबद्धतासँग कार्यान्वयनमा अघि बढे नेपालमा पुँजी बजारको भविष्य उज्वल हुनेछ।”

अर्थ मन्त्रालयका अनुसार कार्यदलले प्रतिवेदनमार्फत बजारमैत्री नीति, पारदर्शी प्रणाली, लगानीकर्ता सुरक्षाका उपाय, तथा नेप्सेमा प्रविधि सुधार लगायतका बुँदामा ठोस सिफारिसहरू गरेको छ।

एसबानले यसलाई “निजी क्षेत्र र सरकारबीचको सहकार्यको नयाँ मोड” को रूपमा स्वागत गर्दै राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेप्सेलाई पनि तत्काल संयोजित कदम चाल्न आह्वान गरेको छ।

  • Clock icon
    २०८२ आश्विन २३, बिहीबार