राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका जेनजी समूहका युवालाई प्रहरीले पक्राउ गरेको छ। प्रदर्शनको तयारीसहित पुगेका ती युवामध्ये डा. निकोलस भुसाल र सञ्जिव दाहालसहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयले कुनै पनि प्रदर्शन वा भेला गर्न अनुमति नदिएको अवस्थामा उनीहरू माइतीघरमा प्रदर्शन गर्न खोजेपछि पक्राउ गरिएको हो। प्रहरी स्रोतका भनाइअनुसार, पक्राउ परेकालाई अहिले अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबारमा लगिएको छ।
यसैबीच, सम्भावित विरोध प्रदर्शनलाई ध्यानमा राख्दै माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरीले अनधिकृत प्रदर्शन गर्न खोज्ने जो–कोहीलाई नियन्त्रणमा लिइने चेतावनी दिँदै शान्ति–सुरक्षा भंग गर्ने गतिविधि सह्य नहुने स्पष्ट गरेको छ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            