विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरिएको चर्चित प्रकरणमा अब माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूमाथि पनि प्रहरी अनुसन्धान अघि बढाइएको छ।
यसअघि सोही प्रकरणमा माओवादीका अर्का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परिसकेका थिए। महराको गिरफ्तारीपछि पुन परिवारमाथि पनि संलग्नताको आशंका बढेको प्रहरी स्रोतले जनाएको छ।
पुनका जेठा छोरा जितेन्द्र पुन दुई वर्षअघि हुम्लाबासीको नक्कली कागजात बनाएर चिनियाँ समूहसँग करिब चार किलो सुनको लेनदेन गरेको आशंकामा पहिले नै विवादमा मुछिएका थिए। त्यस्तै, कान्छा छोरा दीपेश पुन ९ किलो र ६१ किलो सुन तस्करी प्रकरणसहित सहकारी ठगी र भुटानी शरणार्थी प्रकरणमा पनि संलग्न रहेको प्रहरीको दाबी छ।
हाल दीपेश पुन फरार छन् भने पूर्वउपराष्ट्रपतिका सचिवालय सदस्य जीवनकुमार गुरुङ र आफन्त अमला रोका यसअघि नै सुन काण्डमा पक्राउ परिसकेका छन्।
प्रहरीका अनुसार पुन परिवारको चिनियाँ समूहसँग नजिक सम्बन्ध रहेको र उनका सचिवालयका सदस्यहरू समेत सुन तस्करीमा जोडिएको देखिएपछि अनुसन्धानको दायरा विस्तार गरिएको हो। प्रहरीले यस प्रकरणलाई ठूला राजनीतिक व्यक्ति र अन्तर्राष्ट्रिय गिरोहबीचको संयुक्त सुन तस्करी सञ्जालको कडीका रूपमा हेरेको बताएको छ।
