इजरायलमा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विद्यार्थी विपिन जोशी अब जीवित छैनन् भन्ने कुरा इजरायली सेनाका अधिकारीहरूले औपचारिक रूपमा पुष्टि गरेका छन्। इजरायली समय अनुसार आज बिहान साढे ७ बजे आईडीएफका अधिकारीहरूले नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिका बस्ने विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर र इजरायल प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरूसँग भिडियो कन्फरेन्समार्फत जानकारी दिएका थिए।
राजदूत पण्डितले अनलाइनखबरसँग भने, ‘आईडीएफका अधिकारीले हामीलाई विपिन ईज नो मोर भने।’
अमेरिकाको पहलमा इजरायल र हमासबीच भएको युद्धविरामपछि आज हमासले जीवित र मृतक बन्दीहरू रिहा गर्ने कार्यक्रम तय गरेको छ। तर आज रिहा हुने २० जनाको सूचीमा विपिनको नाम छैन।
विपिन जोशी अध्ययनको सिलसिलामा इजरायल पुगेका थिए र सन् २०२३ अक्टोबर ७ मा किबुत्ज क्षेत्रमा हमासको आक्रमणको क्रममा बन्धक बनाइएका थिए। सो आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए। नोभेम्बर १७ मा उनी गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए, त्यसपछिका अवस्था अज्ञात थियो।
गएको बुधबार विपिनको एउटा पुरानो भिडियो सार्वजनिक भएको थियो। उनको खोजीका लागि सरकारले कूटनीतिक पहल गरेको थियो, जसअनुसार उनका आमा र बहिनी पहिले इजरायल पुगेका थिए र अहिले अमेरिका छन्।
सरकारको निरन्तर प्रयासका बाबजुद, विपिनको अवस्था पत्ता लगाउन थप प्रगति भएको छैन।
