सेबोनले पुँजीबजार सुधारका लागि तत्काल कार्ययोजना सार्वजनिक गर्यो

  • Clock icon
    २०८२ आश्विन २८, मंगलवार

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजीबजार सुधारका लागि तत्काल लागू गर्नुपर्ने कार्ययोजना सार्वजनिक गरेको छ। यो कार्ययोजना पुँजीबजार सुधारका लागि गठित चार सदस्यीय कार्यदलको सिफारिसअनुसार तयार पारिएको हो।

कार्यदलको संयोजक सेबोनका कार्यकारी निर्देशक रुपेश केसी रहेका थिए। यसमा राष्ट्र बैंक, नेप्से र अर्थ मन्त्रालयका प्रतिनिधिहरू पनि समावेश थिए। अर्थमन्त्री रामेश्वर खनालले पदभार सम्हालेको आसोज ३ गते कार्यदल गठन गरिएको थियो।

सेबोनले तयार पारेको कार्ययोजनामा केही महत्वपूर्ण सुधारका कामहरूका लागि स्पष्ट समयसीमा तोकिएको छ।

मुख्य सुधार कार्यक्रमहरू यस प्रकार छन्:

  • मार्जिन कारोबार प्रणाली: कात्तिक मसान्तभित्र धितोपत्र दलाल व्यवसायीमार्फत लागू गरिने।

  • बोनस सेयर वितरणमा लाभांश कर मिलान: सम्बन्धित संगठित संस्थाले नै मिलान गरी भुक्तानी गर्ने व्यवस्था तुरुन्त लागू गरिने।

  • दुई वा बढी हितग्राही खाता खोल्ने प्रक्रिया: कात्तिक १५ भित्र सम्पन्न गरिने।

  • भुक्तानी असमर्थता वा ढिलाइमा दायित्व र प्रतिफल भुक्तानीसम्बन्धी प्रावधान: मंसिर १५ भित्र एकरूप बनाइने।

कार्यदलले प्रणालीगत र प्रक्रियागत सुधारका सिफारिससहित कार्ययोजना बिहीबार अर्थमन्त्रीलाई बुझाएको सेबोनले जनाएको छ।

सेबोनका अनुसार यस कदमले पुँजीबजारको पारदर्शिता, कार्यक्षमता र लगानीकर्ताको भरोसा बढाउने अपेक्षा गरिएको छ।

  • Clock icon
    २०८२ आश्विन २८, मंगलवार