युनिलिभर नेपाल लिमिटेडका शेयरधनीका लागि लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (कात्तिक ९ गते, आइतबार) रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरणका लागि कात्तिक ११ गतेदेखि २५ गतेसम्म बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनी मात्र लाभांशका हकदार हुनेछन्।
भोली अर्थात् कात्तिक १० गते छठ पर्वको सार्वजनिक बिदा हुने भएकाले आजको कारोबार नै निर्णायक बनेको हो। आजसम्म शेयर खरिद गर्नेले कम्पनीको ३२औँ वार्षिक साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले कात्तिक २५ गते, मंगलबार, द एभरेष्ट होटल, नयाँबानेश्वर, काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ। सभा दिउँसो साढे ४ बजे सुरु हुनेछ।
सभामा प्रतिकित्ता रु. १,८४२ का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन हुने अपेक्षा गरिएको छ। साथै, लेखापरीक्षकको नियुक्ति, सामाजिक तथा सामुदायिक परियोजनामा आर्थिक सहयोगका कार्यक्रम लगायतका प्रस्तावहरू पनि प्रस्तुत गरिनेछन्।
यसअघि पनि नियमित रूपमा उच्च लाभांश वितरण गर्दै आएको युनिलिभर नेपाल लगानीकर्तामाझ स्थिर प्रतिफलका कारण आकर्षक कम्पनीका रूपमा परिचित छ।
